काठमाडौं– कम शो दिइएको भन्दै नेपालको पहिलो इनिमेटेड फिचर फिल्म दाबी गरिएको ‘सलिना’ले आफ्नो पूर्व निर्धारित रिलिज स्थगीत गरेको छ।
सिनेमा भोलि शुक्रबार रिलिज हुने घोषणा भएको थियो। तर अन्तिम समयमा आएर बिना प्रचारप्रसार रिलिज मिति घोषणा गरेको सिनेमा नचलाउनु भनेर निर्माताले भनेकाले आफूहरुले रोकेको जानकारी वितरकले दिएका छन्।
फिल्मका वितरक मनोज राठीले निर्माताले फिल्म नचलाउन भनेपछि आफूहरूले रोकेको बताए। सिनेमाको निर्माताले विभिन्न संचारमाध्यममा नेपालकै पहिलो एनिमेटेड फिल्मलाई हले प्रोत्साहन नगरेको आरोप लगाएका छन्।
उनले प्रोत्साहन गर्नुको साटो कम शो दिएर हेपेको आरोप लगाए। रिलिज स्थगीत गर्नुको पछाडि कम शो र एसईई परीक्षालाई पनि मुख्यकारण मानिएको छ।
'सलिना'ले रिलिज स्थगित गरेसँगै यो शुक्बार नेपाली सिनेमाघरमा विदेशी सिनेमामात्र रिलिज हुने भएको छ। रिलिज स्थगीत यस फिल्मको नयाँ रिलिज मितिका बारेमा कुनै टुङ्गो लागिसकेको छैन।
नेपालको पहिलो एनिमेटेड फिचर सिनेमा भएपनि सिनेमाको सार्वजनिक ट्रेलर सिनेमा प्रस्तुतिमा कमजोर रहेको देखिन्छ। सिनेमा विशेषगरी आफ्नो आवाजमा एकदमै कमजोर लाग्छ। गैर व्यवसायिक कलाकारले एनिमेडेट पात्रलाई स्वर दिएका छन् जसले संवादहरु एकदमै सतही शैलीमा छन्।
विदेशी एनिमेटेड सिनेमामा भने ठूला र व्यवसायिक कलाकारहरुको आवाज प्रयोग गर्ने गरिन्छ। यस अर्थमा 'सलिना'सँग नेपालको पहिलो एनिमेटेड फिचर फिल्म भन्ने बाहेकको अर्को दर्शक तान्ने विशेषता छैन।
प्रचारप्रसार बिना आएको यो सिनेमाको फिल्मी बजारमा हल्ला छैन भने पनि हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।