काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई पार्टी पद्धतिको पक्षमा धारणा राखेका छन्। बिहीबारदेखि पुनः सुरु भएको संवाद यात्राका क्रममा प्रतापपुरमा बोल्दै थापाले एउटा पार्टीले पाँच वर्ष सरकार चलाउनुपर्ने र अर्को पार्टी प्रतिपक्षमा बस्नुपर्ने बताए।
'मेरो विचारमा नेपाल एकप्रकारले, विस्तारैविस्तारै, निर्वाचन प्रणालीलाई व्यवस्थित गर्योर भने दुइटा पार्टी भएको पद्धतिमा जान्छ। दुइटा पार्टी रहोस्। दुइटा पार्टीको बीचमा प्रतिस्पर्धा होस्। एउटा पार्टीले आनन्दले पाँच वर्ष सरकार चलाओस्। अर्को पार्टी प्रतिपक्षमा बसोस्। त्यसले प्रश्न उठाओस्। भोलिका लागि, सुधारका लागि नयाँ योजनाहरू ल्याओस्', थापाले भने।
थापाले नेपालमा चुनावको बेलामा एउटा पार्टीसँग मिल्ने, चुनाव जित्ने र चुनाव जितिसकेपछि घुमेको घुम्यै गर्ने साना पार्टीहरू रहेको भन्दै कटाक्ष गरे। 'कहिले योसँग जाने, कहिले योसँग जाने। घुमीघुमीकन', उनले भने, 'अहिले प्रदेशको हालत त्यही हुँदैछ। लुम्बिनी प्रदेशमा, सुदूरपश्चिम प्रदेशमा हामी देख्दैछौँ, हेर्दैछौँ, अब कुनचाहिँ पार्टीले सरकार बनाउने हो, कसले बनाउने हो, केही पनि थाहा छैन।'
यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि दुई पार्टी पद्धतिमा जानुपर्ने उनको वकालत थियो।
थापाले निर्वाचन प्रणाली परिवर्तनका लागि छलफल गर्नुपर्ने बताए। अहिले नेपालले अपनाइरहेको निर्वाचन असाध्यै महंगो भएको उनको भनाइ छ। 'यसले सुशासनमा पनि मद्दत पुर्याउन सकेन। निर्वाचन असाध्यै विकृत पनि भयो', उनले भने।
उनले समानुपातिक प्रणालीको असाध्यै ठूलो दुरुपयोग भएको बताए। खल्तीखल्तीबाट झिकेर सांसद बनाउने काम भएकोप्रति उनले असन्तुष्टि व्यक्त गरे। समावेशी संसद् भने चाहिएको उनको भनाइ छ। यद्यपि दलहरूमा समावेशीको नियत नरहेको भन्दै उनले संसद्लाई समावेशी बनाउने उद्देश्य भने छोड्न नहुने बताए। तर यसबीचमा पनि एउटा पार्टीले बहुमत ल्याउन सक्ने खालको प्रणाली अपनाउनुपर्ने उनको प्रस्ताव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।