काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले माधव नेपालले ठूलो स्वरले हाच्छ्युँ गर्दा प्रचण्डको सातो जाने बताएका छन्। सरकारहरू कमजोर भएको अर्थमा थापाले सो कटाक्ष गरेका हुन्।
'अहिले त केही पनि गर्नुपर्दैन। माधव नेपालले बिहान जुरुक्क उठेर 'ढाल्दिऊँ' भन्ने हो भने प्रचण्डको कुर्सी हल्लिन्छ। माधव नेपाललाई रिस उठेर 'आज म कोटेश्वरबाट बुढानीलकण्ठ गएँ' भन्नुभयो भने सरकार ढल्यो। यस्तो पनि सरकार हुन्छ?', संवाद यात्राका क्रममा थापाले बिहीबार प्रतापपुरमा सम्बोधन गर्दै भने।
उनले एक जनालाई रिस उठ्यो भने सरकार ढल्ने गरेको भन्दै यो प्रवृत्ति नेपालले अपनाइरहेको निर्वाचन प्रणालीसँग जोडिएको बताए। निर्वाचन प्रणाली परिवर्तनका लागि छलफल गर्नुपर्ने उनको प्रस्ताव छ।
सम्बोधनका क्रममा थापाले आफूलाई दुई पार्टी पद्धतिको पक्षमा पनि प्रस्तुत गरे। 'मेरो विचारमा नेपाल एकप्रकारले, विस्तारैविस्तारै, निर्वाचन प्रणालीलाई व्यवस्थित गर्योम भने दुइटा पार्टी भएको पद्धतिमा जान्छ। दुइटा पार्टी रहोस्। दुइटा पार्टीको बीचमा प्रतिस्पर्धा होस्। एउटा पार्टीले आनन्दले पाँच वर्ष सरकार चलाओस्। अर्को पार्टी प्रतिपक्षमा बसोस्। त्यसले प्रश्न उठाओस्। भोलिका लागि, सुधारका लागि नयाँ योजनाहरू ल्याओस्', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।