काठमाडौं– नेपालको राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित बनेको वायोपिक सिनेमा 'अन्जिला'को रिलिज मिति तोकिएको छ। सिनेमा आगामी वर्ष माघ ११ गते रिलिज हुने जानाकरी निर्माणपक्षले दिएको छ। मिलन चाम्स सिनेमाका निर्देशक हुन्।
यो मितिमा सिनेमा रिलिज हुँदा उसलाई माघ १६ र १७ मा लगातार परेका दुई बिदाको हुने देखिन्छ। हाललाई यही सिनेमाले मात्र यो मितिलाई रिलिज मिति तोकेको भएपनि अन्य सिनेमा थपिने सम्भावना उच्च छ।
सिनेमाको मुख्य भूमिकामा एन्जिला स्वयंले अभिनय गरेकी छिन्। उनका अलावा सिनेमा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, वुद्दि तामाङ, विजय बराल, हरि खड्का लगायतका कलाकारको अभिनय छ।
इलामको आइतबारे सहित झापा र काठमाडौं सुटिङ गरिएको यो सिनेमामा प्रेम कुमार श्रेष्ठको लगानी छ भने विनोद अग्रवाल र राजेश बागडिया सह–निर्माता हुन्।
मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो सिनेमालाई नेपालसँगै युके र हङकङमा समेत प्रिमियर गर्ने योजना निर्माण पक्ष रहेको छ। सिनेमाले एन्जिलाको बाल्यकालदेखि सफलताको कथासम्म प्रस्तुत गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।