काठमाडौं– अर्थसमितिका सभापति सन्तोष चालिसेले गत वर्ष पूर्वी पहाडी जिल्लामा आएको बाढी तथा पहिरोका कारण जलविद्युत् आयोजना र मानवीय क्षतिका बारेमा समितिले कार्यदल बनाएर अनुगमन गर्ने बताएका छन्।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै सभापति चालिसेले बाढी गएको ९ महिनासम्म पनि सरकारले समस्या समाधान गर्न नसक्नु दुःखद् पक्ष भएको बताए।
उनले सरकारले जलविद्युत् आयोजनाले पाउनुपर्ने सहुलियत र राहत तथा बाढी पीडित नागरिकले तत्काल पाउनुपर्ने बताए। उनले सरकारले २५ जनाको ज्यान जाने, ३१ वटा मुलुकलाई आवश्यकता भएका ऊर्जा क्षेत्रका जलविद्युत् आयोजना बगाउने र १ हजार रोपनी खेतीयोग्य जग्गा बेपत्ता बनाउने गरी आएको बाढीको सरकारले अहिलेसम्म निर्णय गर्न नसक्नु राम्रो नभएको बताए।
उनले निर्माणधीन र जलविद्युत् उत्पादन भएका आयोजनामा ८ अर्ब ८४ करोड रुपैयाँ बराबरको क्षति पुगेको देखिएकाले सो विषयमा सरकार र सम्बन्धित निकाय राहत दिनको लागि जिम्मेवार बन्न जरुरी रहेको बताए।
उनले अर्थसमितिले पीडित जलविद्युत् उत्पादकहरुको समस्या समाधान गर्न विशेष पहल गर्ने विश्वास दिलाए। सभापति चालिसेले क्षति भएका जलविद्युत् आयोजना पुनर्निर्माणको लागि आयात भएको सामान भन्सारमा चार जना गार्ड राख्नुपर्ने अवस्थाको समाधान गर्न आवश्यक रहेको बताए।
सुपरहेवा जलविद्युत आयोजनाका निर्देशक निमा वाङ्गेल लामाले १८ जनामा अझै १४ जना बेपत्ता भएको जानकारी गराए। उनले पीडित परिवारलाई उपचार खर्च र एक लाख रुपैयाँ दिएको बताए। जलविद्युत् उत्पादक कम्पनीहरुको अभिभावक ऊर्जा मन्त्री भए पनि पीडित विद्युत् उत्पादकहरुको पक्षमा दरो रुपमा नबोलेको उनले आरोपसमेत लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।