काठमाडौं– रोड थ्रिलर सिनेमा ‘बाटो’को प्रदर्शन रोक्ने त्रास देखाएको भन्दै वितरक कम्पनी डिजिटल सिनेमा नेपाल (डिसिएन)का प्रमुख अशोक शर्माविरुद्ध चलचित्र विकास बोर्ड र चलचित्र निर्माता संघमा सिनेमाका निर्माता चन्दन झाले उजुरी दिएका छन्।
निर्माता झाले डिसिएनसँगको पुरानो सम्झौतालाई नयाँ ढंगले अगाडि बढाउन वा सम्झौता रद्ध गर्न प्रस्ताव गर्दा वितरक शर्माले अस्वीकार गरेको आरोप आफ्नो उजुरी पत्रमा लगाएका छन्।
‘हामीले डिसिएनलाई मार्केटिङ प्रमोसन आदिका लागि रकम आग्रह गरका थियौं। र, हाम्रो पुरानो सम्झौतालाई नयाँ ढंगले अगाडि बढाउन प्रस्ताव गरेका थियौं । तर, डिसिएनले हाम्रो सो प्रस्ताव अस्वीकार गरेको हुनाले हामीले वर्तमान सम्झौता रद्ध गर्न पनि अनुरोध गयौं', उजुरीमा भनिएको छ, 'तर, डिसिएनका अध्यक्ष अशोक शर्माले सम्झौता रद्ध वा परिमार्जन गर्न अस्वीकार गरी नेपालमा हाम्रो सिनेमाको प्रदर्शनमा रोक लगाउने त्रास देखाउनुभयो। निर्माताको हैसियतले म अन्त्यन्त पीडित अवस्थामा छु।’
समस्या समाधानका लागि निर्माता झाले बोर्ड र निर्माता संघसँग अनुरोध गरेका छन्। झाका अनुसार सिनेमाको प्रचारका लागि रकम दिन आग्रह गर्दा शर्माले अस्वीकार गरेको र अर्को वितरकलाई दिए रिलिज रोक्ने त्रास देखाएको बताए।
‘एक वर्ष अगाडि डिसिएनसँग सम्झौता हुँदा हामीलाई पैसाको खाँचो थिएन। तर, अहिले अप्ठ्यारो परेकाले केही रकम मागेका थियौं। तर, अशोक शर्माले पैसा दिँदैनौं भन्नुभयो', उनले भने, 'अरुलाई वितरण गर्न दिन्छौं भन्दा पनि उहाँले मान्नुभएन। त्यस्तो गरे रिलिज नै गर्न दिन्नँ भन्नुभयो।’
वितरक शर्माले भने पहिला भएको सम्झौताकै आधारमा सिनेमा वितरण गर्न सकिने बताएका छन्। पहिला निर्माताले पैसा नचाहिने भनेर सम्झौता गरेको र अहिले आएर एमजी दिनुपर्ने कि २० लाख लगानी गर्नुपर्ने सर्त अगाडि सारेकाले आफू तयार नभएको उनले बताए।
‘बाटो’लाई डिसिएनले वितरण गर्ने भनेर हल्ला भइसकेकाले सिनेमा छाड्न नसकेको उनको भनाइ छ। मदन थापाको लेखन तथा निर्देशन रहेको सिनेमामा मिथिला शर्मा, रक्षा थापा, आभाष अधिकारी, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार लगायतको अभिनय छ।
सिनेमा नेपाली, अंग्रेजी, तमिल र हिन्दी गरी ४ वटा भाषामा तयार गरिएको छ। आभाष अधिकारी अभिनेत्री रेखा थापाकी जेठी दिदीका छोरा हुन्। उनलाई रेखाले 'रामप्यारी' सिनेमाबाट डेब्यू गराएकी थिइन्।
मदन थापाको लेखन तथा निर्देशन रहेको सिनेमामा मिथिला शर्मा, रक्षा थापा, आभाष अधिकारी, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार लगायतको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।