काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ।
बुधबार बिहान राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।
भेटमा नेपालमा नास्तिकता फैलाउन अमेरिकाको लगानी र भूमिका सम्बन्धी विषयमा अध्यक्ष लिङ्देनले जिज्ञासा राखेको राप्रपाले जनाएको छ।
राजदूत थम्पसनले नेपालमा नास्तिकता फैलाउन अमेरिकाले कुनै लगानी नगरेको र गर्ने नीति पनि नरहेको जानकारी गराएका थिए। राजदूत थम्पसनले अमेरिकी सहयोग नेपालको विकास र सीमान्तकृत समुदायको उत्थानमा केन्द्रित रहेको बताए।
साथै नेपालको धार्मिक सदभाव र एकता उत्कृष्ट रहेको विचार राख्दै चोरी भइ अमेरिका पुर्याइएका मूर्ति नेपाल फिर्ता गरी पुनस्र्थापना गर्ने अमेरिकी नीति रहेको जानकारी गराए।
भेटका अवसरमा अध्यक्ष लिङ्देनले सरकारलाई ४० बुँदे माग पेस गरेको र काठमाडौं केन्द्रित प्रदर्शनको तयारीमा रहेको जानकारी राजदूत थम्पसनलाई गराएका उनले बताए। सुशासन, विकास, सेवाप्रवाह, वैदेशिक लगानीलगायत विषयमा पनि छलफल भएको श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।