काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले यही हप्तामा प्रदेश सरकारमा नयाँ समीकरणअनुसारको सरकार बन्ने बताएका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले केन्द्रमा पार्टी नेतृत्वको सरकार बनिसकेपछि स्वभाविक रुपमा प्रदेशमा पनि सरकारहरु बन्ने प्रक्रिया सुरु हुने बताए।
उनले सत्तामा रहेका पाँच राजनीतिक दलहरुले एकतावद्ध प्रयास गर्ने हो भने सबै प्रदेशहरुमा नयाँ समीकरण अन्तर्गतका सरकार बन्ने समभावना रहेको बताए। उनले सत्तामा सहभागी दलहरुबीच छलफल गरी यसै हप्तामा प्रदेश सरकारलाई नयाँ समीकरणअन्तर्गत बनाउने काम पूरा गर्ने बताए।
महासचिव पोखरेलले नेकपा एमाले समाजवादी मोर्चामा नजाने पनि स्पष्ट पारे। उनले नेकपा एमालेको मिसन मोर्चा बनाउनेतर्फ नभइ राजनीतिक ध्रुवीकरण र बलियो राष्ट्रिय शक्ति निर्माणको रहेको बताए। उनले एमाले सरकारमा पुगेकाले मिसन ०८४ के भयो भन्ने जिज्ञासा आइरहेको उल्लेख गर्दै अहिलेको सहकार्य मिसन ०८४ लाई सहयोग पुर्याउने गरी नै भएको दाबी गरे।
उनले नेकपा एमालेको मिसन ०८४ को उद्देश्यमा फेरबदल नभएको बताए। उनले अहिलेको सरकार वा पाँच दलको सहकार्य बामपन्थी सहकार्य नभएको बताए। उनले अहिलेको सहकार्य न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा आधारित सहकार्य भएको बताए।
महासचिव पोखरेलले नयाँ सत्ता समीकरणको सहकार्यलाई वामपन्थी मोर्चा वा गठबन्धन वा त्यस दिशातर्फको यात्रा भनेर टिप्पणी नगर्न आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।