काठमाडौं- चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेतासँग भेटवार्ता गरेका छन्।
साता लामो चीन भ्रमणको क्रममा सोमबार बेइजिङ पुगेका श्रेष्ठले साँझ चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिका सदस्य वाङ हुनिङसँग भेटवार्ता गरेका हुन्।
बेइजिङस्थित स्टेट गेस्ट हाउसमा भएको करिब एक घण्टा लामो भेटवार्तामा ६ महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएका सहमतिको कार्यान्वयन तथा चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनको मोडालिटीबारे छलफल भएको छ।
‘वाङले गत वर्ष प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा राष्ट्रपति सीसँग भएको भेटमा द्विपक्षीय सम्बन्धको विकासका लागि महत्वपूर्ण सहमति भएको उल्लेख गर्दै त्यसको सशक्त कार्यान्वयन गर्न आह्वान गरे,’ वाङको भनाइ उधृत गर्दै भेटमा सहभागी एक नेपाली अधिकारीले भने, ‘बीआरआई सहयोग प्रवर्द्धन र नागरिकस्तरको सम्पर्कमा वृद्धि गर्न वाङले जोड दिए।’
चीनका समकक्षी वाङ यीसँग मंगलबार दुई पक्षीय भेटवार्ता तय भएकाले आजको उच्च भेटमा पहिले भैसकेका सहमतिहरूको कार्यान्वयन र दुई देशका नेताहरूबीचको सम्बन्धनबारे बढी छलफल भएको छ।
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङका अत्यान्तै निकट वाङ पार्टीको सात सदस्यीय स्थायी समितिका पाँचौ नम्बरका सदस्य हुन्। उनी चिनियाँ सरकारलाई सल्लाह प्रदान गर्ने चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी) का अध्यक्ष हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।