काठमाडौं- इलाम-२ का लागि नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफू परिस्थितिजन्य हिसाबले मात्रै राजनीतिमा होमिन तयार नभएको बताएका छन्। उनले मन, वचन र कर्मले इलामको सेवा गर्ने संकल्प सहित उभिएको स्पष्ट पारेका छन्।
२०७९ मंसिर ४ को निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा विजयी भएका सुवास नेम्वाङको निधनपछि रिक्त हुन पुगेको इलाम-२ मा एमालेले सुहाङलाई उम्मेदवार बनाउने निर्णय लिएको थियो। सोमबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले इलामको लागि स्पष्ट योजना र मार्गचित्र सहित यात्राको लागि तयार भएको बताएका छन्।
उनले अझै थुप्रै वर्षहरु बुवाको साथमा रहेर सिक्ने, बुझ्ने र जान्ने आफूलाई लागेको भए पनि अकल्पनीय 'आकस्मिकता' आइलागेको उल्लेख गरेका छन्। 'बुवाले देखाउनु भएको बाटो र दिनु भएको उज्यालो समातेर उहाँका ती सपनाहरु पूरा गर्न तयार हुनुपर्ने अवस्था आयो', उनले लेखेका छन्।
बुवालाई राजनीतिमा साथ दिदै खेलकुद, सामाजिक अभियान र वकालतमा सक्रिय रहेको भए पनि बुवासँग जोडिएका इलामेली जनताको सपना, संकल्प र अपेक्षाले आफूलाई पछ्याइरहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।