काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताएका छन्।
आइतबार अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा भएको बृहत होली मिलन कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै नेता खनालले समाजवाद प्राप्त गरेर मात्रै देशमा शान्ति र समृद्धि ल्याउन सकिने बताएका हुन्।
उनले देशको विकास गर्न र विकृति, विसंगतिहरुलाई अन्त्य गर्न समाजवाद आवश्यक भएको बताए। समाजवादको भविष्यमा पुगेर मात्रै देशलाई समृद्ध देशको रुपमा रुपान्तरण गर्न सकिने उनको भनाइ थियो।
खनालले सुखि नेपाली समृद्ध नेपालको सपना समाजवाद अघि पूरा हुन नसक्ने दाबी गरे।
उनले भने, ‘समाजवाद प्राप्त गरेर मात्रै तपाईं, हामीले देशमा शान्ति, समृद्धि ल्याउन सक्छौं। विकास ल्याउन सक्छौं। आजको सारा विकृति र विसंगतिहरुलाई अन्त्य गर्नसक्छौं। आजको युग अब समाजवादको युग हो। आज मात्रै हाम्रो पार्टीको सचिवालयले महाधिवेशनको एउटा नारा तय गरेको छ, दक्षिणपन्थी अवसरवादको बिरोध गरौं, समाजवाद निर्माण गर्नका लागि अगाडी बढौं। अब यो हाम्रो पार्टीको मात्र होइन, सिंगो देशको नारा हुनुपर्छ। समाजवादको भविष्यमा पुगेर मात्रै यो देश नेपाललाई समृद्ध देशको रुपमा हामी रुपान्तरण गर्नसक्छौं। सुखी नेपाली समृद्ध नेपालको कुरा समाजवादमा मात्र पूरा हुनसक्छ।’
नेता खनालले देशका युवाहरु साम्राज्यवादी, प्रभुत्ववादी र हस्तक्षेपकारी शक्तिहरुका विरुद्ध एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए।
उनले देशभित्रै शोषण, दमन र अत्याचार गर्ने दलाल पुँजीवादी शक्तिहरुकाविरुद्ध पनि आम जनतालाई एकताबद्ध बनाएर लैजानुपर्ने बताए। उनले विद्यार्थीहरुलाई राज्यको उपल्लो निकायसम्म पुग्न शुभकामना दिँदै भ्रष्टाचारी भने कहिल्यै नबन्न अनुरोध गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।