काठमाडौं- नेकपा मालेले गृहमन्त्री रवि लामिछानेले आफूमाथिको आरोपलाई ढाकछोप गर्न थालेको भन्दै त्यसलाई निन्दनीय भनेको छ।
‘वर्तमान गृहमन्त्री रवि लामिछाने सुन तस्करीमा आरोपित माथिल्लो स्तरका व्यक्तिहरूलाई समातेर आफ्नो कर्तव्य निर्वाह गर्नुभन्दा बढी त्यसबाट प्राप्त वाहीवाहीलाई आफू माथिको आरोप ढाकछोप गर्न दुरुपयोग गर्न थालेको देखिएको छ। यो निन्दीय छ’, मालेको भनाइ छ।
चैत ९ सम्पन्न स्थायी कमिटीको बैठकको निर्णय सार्वजनिक गर्न शनिबार प्रेषित गरिएको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय राजनीतिमा हाल चर्चामा ल्याइएका भ्रष्टाचार र अनियमितताका गम्भीर अपराधहरूमा ढाकछोप तथा संसद्वादी दलहरूबीच 'तैंचुप मैचुप'को स्थितिले जनताको ध्यान मूल समस्याबाट पन्छाउने प्रपञ्च भइरहेको बैठकले ठहर गरेको छ।’
विज्ञप्तिमा यही फागुन २१ गते परिवर्तन भएको सत्ता गठबन्धनका विषयमा पनि टिप्पणी गरिएको छ। त्यस परिवर्तन हठात जस्तो लाग्ने भए पनि नेपाली राष्ट्रिय राजनीतिको न्यून स्तरको कुरुप चरित्रलाई थप नांगो बनाएको टिप्पणी मालेको छ।
‘हस्तक्षेपकारी बाह्य शक्तिको चलखेल र एमाले-माके गठबन्धनभित्रका अन्तर्विरोधहरूले गर्दा परिवर्तनशील बनेको संसदीय जोड घटाउको कारण वर्तमान सरकार ढिलोचाँडो ढल्न सक्ने खतरा रहेको छ। यो सम्भावनाको महत्त्वपूर्ण पाटो बनेको छ’, विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।