राजविराज- सप्तरी सदरमुकाम राजविराजमा पुनः अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको आयोजना गरिने भएको छ।
अन्तर्राष्ट्रिय मैथिली सम्मेलन समितिको आह्वान तथा राजविराजको मैथिली साहित्य परिषद्को आयोजनामा आगामी पुस ७ र ८ गते मैथिली सम्मेलन हुने निर्णय भएको छ।
राजविराजस्थित मैथिली परिषद् भवनमा भारतको सम्मेलन समितिका पदाधिकारी र परिषद्का पदाधिकारीसहित पूर्वअध्यक्षबीच सम्पन्न संयुक्त बैठकले सम्मेलनका लागि आवश्यक तयारी अविलम्ब अगाडि बढाउने निर्णयसमेत भएको मैथिली परिषद्ले जनाएको छ।
बैठकले अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको आयोजक मैथिली साहित्य परिषद् भएकाले भारतको समितिसँग समन्वय गरी सम्पूर्ण गतिविधि अगाडि बढाउने निर्णय गरिएको छ। भारत, नेपाल लगायत अन्य देशका करिब दुई सय मैथिली भाषाविद्, साहित्यकार, अभियानी, अन्वेषणकर्ता प्रतिनिधिको सहभागिता रहने मैथिली परिषद्का सचिव श्यामसुन्दर यादवले जानकारी दिए।
उनका अनुसार सम्मेलनको पहिलो दिन पुस ७ गते मिथिला पहिरनसहित सांस्कृतिक एवं परम्परागत झाँकीका साथ शोभायात्रा निकालिनेछ।
कार्यक्रममा सम्मेलन स्मारिका, पुस्तक विमोचन, मिथिला र मैथिलीका लागि विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई मिथिलारत्न प्रदान गरिने लगायतका कार्यक्रम गर्ने बताइएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।