काठमाडौं– पशुपति मन्दिरको किरियापुत्री भवनको १०७ नम्बर कोठा। माइली राई उनको श्रीमान्को किरिया बसेकी छन्। दैनिक मजदुरी गरेर जिविका चलाउँदै आएकी माइलीमाथि फागुन २६ गते एक्कासी बज्रपात पर्यो। श्रीमान् रिक्सा चलाउँथे, उनी अरुको घरमा काम गर्थिन्। दुई छोरीमध्ये जेठी गार्मेन्टमा काम गर्थिन् अनि कान्छी विद्यालयमा पढाइ गरिरहेकी थिइन्।
नुवाकोटबाट दु:ख बिर्सन र सुख खोज्दै बालाजुमा आएकी उनको जिन्दगी ठीकै चलिरहेको थियो। तर फागुन २६ गते उक्त खुशी एक्कासी दु:खमा बदलियो। दिउँसो रिक्सा चलाएर आएका श्रीमान् पाण्डव राई साथीहरुसँग खानपिन गरेर सुतेका थिए। तर एक्कासी उनको बोलचाल बन्द भयो। पाण्डवको बोली बन्द भएको र श्वास नफेरेको देखेपछि उनले कति झक्झकाइन् अनि बोलाइन तर उनको केही लागेन।
-1710481931.jpg)
पाण्डवले अन्तिम श्वास कतिबेला लिए उनले पत्तो नै पाइनन्। उनीसहित दुई छोरी रुन लागे अनि गुहार माग्दै कराउन लागे। तर पाण्डवले संसार छोडिसकेका थिए। उनले अस्पताल लैजान भनी सहयोग मागिन्। उनको गुहार सुनेर वरिपरिका मानिसहरु जम्मा भए तर पाण्डवको श्वास नरहेको निष्कर्ष निकालियो। अनि उनीहरुले अस्पताल नभई अन्तिम संस्कारका लागि पशुपति लैजान सुझाव दिए।
साँझसम्म बोलिरहेका श्रीमान् एक्कासी बितेपछि माइलीको होस नै हरायो। ‘एक्कासी आएको यो समयले म आफैं मुर्छा परेँ। केही समय त धर्ती नै हल्लियो। मैले केही सोच्न सकिनँ,’ किरियापुत्री घरमा भेटिएकी माइलीले भनिन्। अनि त्यसपछि उनको दु:ख झन सुरु भयो। उनले लास अन्तिम संस्कारका लागि पशुपति लैजानुपर्ने भएपछि सहयोग मागिन्। तर पर्याप्त सहयोग पाइनन्।
उनले ट्याक्सीलाई पशुपति लैजान बोलाइन्। तर कुनै पनि ट्याक्सीले शव बोकेर जान मानेनन्। उनले एम्बुलेन्सको खोजी गरिन्। केही ठाउँमा फोन पनि गरिन् तर कतै पनि भएको र आउने खबर पाइनन्। त्यसपछि उनलाई लाग्यो अब श्रीमान्को अन्तिम संस्कारका लागि पनि म एक्लै छु।
-1710481931.jpg)
‘सुरुमा टयक्सीको खोजी गर्यौं। एम्बुलेन्स पनि बोलाएका थियौं,’ माइलीले भनिन्, ‘तर केही पनि पाइन। घरमा शव धेरै राख्ने कुरा पनि भएन। रात बढ्दै गएको थियो।’ त्यसपछि उनले नजिकैको एक जना रिक्सा चालकको सहयोग लिइन् अनि रिक्सामै लास राखेर पशुपति लैजाने निधो गरिन्। उनले छोरीहरुको सहयोग लिएर रिक्सामा लास राखेर पशुपति हिँडिन्। उनले मेसिनबाट जलाउन सहज हुने सुनेकी थिइन्। त्यसैले विद्युत्तिय शवदाह गृहमा श्रीमान्को लास लगिन्।
तर उनलाई थाहा थिएन पशुपतिमा लास पोल्न पनि पैसा चाहिन्छ। ‘म सँग तीन हजार जति थियो। लास जलाउन पैसा लाग्छ भन्ने थाहा नै थिएन,’ उनले भनिन्, ‘यही तीन हजार खर्च गरे किरिया के ले गर्ने अप्ठारोमा परेँ।’ माइलीको अप्ठ्यारो बुझेपछि दाताको खोजी भयो। माइलीलाई नरोत्तम वैद्य लगायतले लास पोल्ने व्यवस्था मिलाइदिन अनि किरिया बस्नका लागि किरियापुत्री भवनसमेत मिलाइदिए।
‘पशुपतिकै एकजना सरले लास पोल्न र यहाँ बस्ने व्यवस्था गरिदिनु भयो,’ माइलीले भनिन्, ‘हामीलाई केही आर्थिक सहयोग पनि गर्नु भयो।’ माइलीलाई शुक्रबार समाजसेवी सुनिल रानाभाटले केही आर्थिक सहयोग जुटाएर हस्तान्तरण गरेका छन्। सुनिलले सामाजिक सञ्जालमा माइलीको अवस्थाबारे सुनेका थिए।
-1710481931.jpg)
‘सामाजिक सञ्जालमा रिक्सामा लास ल्याएको अनि पशुपतिको किरियापुत्री भवनमा बसेको तर आर्थिक अवस्था नाजुक भएकाले समस्या भएको सुनेपछि यहाँ आएको हुँ,’ उनले भने, ‘अभावमा रहेका यस्तालाई सहयोग सबैले गर्न पनि म आग्रह गर्दछु।’ आफूले केही थप सहयोग चाहिए सम्पर्क गर्न भनेको र परेमा गर्ने पनि उनले बताए।
‘लास पोल्न र किरिया नै गर्न समस्या भएको सुनेपछि मलाई सारै मन छोयो। अनि करिब एक महिनाका लागि खाद्यान्न, फलफूल र केही रकम जुटाएर सहयोग गरेको छु,’ हामी पशुपतिको किरियाघर पुग्दा भेटिएका उनले भने, ‘मानविय सहयोग नै धर्म हो भन्ने ठानेर सहयोग गरेको हुँ।’ माइलीकी दुई छोरी छन्। जेठी छोरी गार्मेन्टमा काम गर्थिन् तर पछिल्लो आर्थिक मन्दीले काम छैन भनी घरमै बसेकी छन्।
‘जेठी छोरीको पनि अहिले काम छैन। कमाउने श्रीमान् थिए त्यही पनि गुमाएँ, ’ उनले भनिन्, ‘भगवानले एकै पटक सबै पारे। तर यो दु:खमा धेरैले सहयोग गर्नु भएको छ।’ विधुवा किरियापुत्री माइली राईलाई हालसम्म १२ लाख भन्दा बढी नगद सहयोग प्राप्त भइसकेको छ। वस्तुगत सहयोग पनि करिब १ लाख भन्दा बढी आइसकेको छ। सहयोग आउने क्रम जारी रहेकाले कसैको कोही नभए भगवान हुने आसा रहेको उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।