काठमाडौं- ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नाराले पनौती नगरपालिका वडा नम्बर २ मा सार्थकता पाएको छ। यही नारा लिएर वडालाई बालश्रममुक्त गर्ने अभियानमा लागेको यो वडा पूर्ण रुपमा बालश्रममुक्त बन्न सफल भएको छ।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले बिहीबार एक कार्यक्रमका बीच वडाध्यक्ष पुरुषोत्तम अधिकारीलाई वडा नम्बर २ बालश्रमुक्त भएको प्रमाणपत्र प्रदान गरे। बालश्रममुक्त हुनका लागि सबै मापदण्ड पूरा गरेपछि यस वडालाई बालश्रममुक्त घोषणा गरिएको सो अवसरमा जानकारी दिइयो।
नगर प्रमुख भण्डारी, उपप्रमुख गीता बञ्जारा, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, जनप्रतिनिधि, कर्मचारी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा पनौती नगरपालिका वडा नम्बर २ लाई बालश्रममुक्त वडा घोषणा गरिएको हो।
कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर २ का अध्यक्ष पुरुषोत्तम अधिकारीले बालश्रममुक्त घोषणा पूर्व भएका गतिविधि, तयारी तथा प्रतिवद्धताका बारेमा जानकारी दिएका थिए। उनले वडाका प्रत्येक घरमा गएर बालश्रम भए/नभएको जानकारी लिएपछि वडालाई बालश्रममुक्त वडा बनाउन कदम चालिएको उल्लेख गरे।
बालमैत्री नगर घोषणा गरेको समयमा बालबालिका सम्बन्धी ऐन २०६८ ले ३९ वटा सूचक पूरा गरेको अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख थियो।
संशोधित ऐन २०७८ ले बालमैत्री नगरका लागि थप १२ वटा बुँदा थपेर पहिला भएका बालश्रम लगायतका बुँदाहरु संशोधन गरी बालमैत्री नगरका लागि बालबालिकाहरु श्रममा भएको भए व्यवस्थित रुपले पुनर्स्थापना भएको हुनुपर्ने उल्लेख भएपछि पनौती नगरपालिकाले चालु आर्थिक वर्ष भित्रै सबै वडालाई बालश्रम मुक्त घोषणा गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।