काठमाडौं- माओवादी केन्द्रबाट वर्षमान पुनले फेरि अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्। देशको अर्थतन्त्रमा निराशा छाएको समयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई पत्याएका हुन्।
पुनले पछिल्ला केही वर्ष दोहोरो संघर्षमा बिताएका छन्। आफ्नै स्वास्थ्य अवस्था 'क्रिग्लर नज्जार सिन्ड्रोम' भनिने वंशाणुगत जन्डिसबाटसँग उनी लामो समय जुधे। थाइल्यान्डदेखि चिनसम्म पुगेर त्यसको उपचार गर्नुपर्यो। त्यही समयमा माओवादी केन्द्रको महाधिवेशन भयो। प्रचण्डपछि पार्टीको 'कमान्डर'का रुपमा प्रोजेक्सन गरिएका उनलाई महासचिव बन्नबाट रोकियो। अध्यक्ष प्रचण्डले चाहेर पनि महासचिव बनाउन सहज नभएपछि उनी उपमहासचिवमै खुम्चिए।
सत्ताभन्दा पर रहेका उनी वर्तमान राजनीतिका दोस्रो तहका चतुर नेतामध्ये पर्ने उनी निष्क्रिय भएर बसेनन्। उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग समदूरी कायम गरेर राखे। संवादलाई निरन्तरता दिए। नेपाली कांग्रेससँगको गठबन्धनमा आफू नराम्ररी बाँधिएको महसुस गरेका प्रचण्डलाई त्यहाँबाट निकाले अवस्थाका सूत्रधार पुन बने। आफूलाई एमालेको समेत विश्वासप्राप्त अर्थमन्त्रीका रुपमा उनले सपथ लिएका छन्।
पार्टी भित्र उनीसँग प्रतिस्पर्धा गरिरहेकाहरुलाई यसपल्ट उनले उछिनेका छन्। उनी प्रचण्डसँग निकट मात्रै होइन, शक्तिमा समेत फर्किएका छन्।
दुईपल्ट मृत्युमाथि विजय
पुनले यसपल्ट ‘सिग्गलर नाजार टाइप टु सिन्ड्रोम’ रोगबाट आफूलाई उम्काए। वंशाणुगत जण्डिस भनिने उनको यो समस्या नयाँ होइन। तर यसपल्ट उनलाई नराम्ररी गाँज्यो। उक्त समस्याबाट उनी युद्धकालदेखि नै पीडित थिए। यही बीचमा बढेपछि उनीले भारत, थाइल्याण्ड र चीनमा उपचार गराए।
कुनै समय उनको स्वास्थ्य अवस्था अत्यन्त जटिल र चिन्ताजनक नै बनेको उनी निकटस्थहरु बताउँछन्। चीनमा गरिएको उपचारले उनलाई अहिलेको अवस्थामा पुर्याएको हो।
त्यसअघि युद्धका समयमा पनि उनी पटक-पटक मृत्युको मुखबाट फर्केका हुन्। मर्न वा मार्नका लागि युद्धमा होमिने भएकाले अस्वभाविक पनि होइन। पुनका अनुसार डोल्पा सदरमुकाम, अछाम सदरमुकाम मंगलसेन, बन्दीपुर हाइवेको आक्रमण उनी संयोगले बाँचेका हुन्।
उनले सुनाएअनुसार अर्को एक ठाउँमा पनि उनी घेराबाट फुत्किएका हुन्। महरा र अनन्त सल्यानको बाँफुखोलामा थिए । त्योबेला अनन्तको छोरी शिला भर्खरै जन्मिएकी थिइन्। सात उनकी श्रीमती तथा पूर्व सभामुख ओनसरी घर्ती ७ दिनकी सुत्केरी थिइन्। त्यसै ठाउँमा चारैतिरबाट प्रहरीले घेरा हाल्यो। सुत्केरी ओनसरी छोरीलाई हातमा उनी जंगलतिर लागिन्। अर्को घरमा रहेका महरा र अनन्त प्रहरी घेरामा परे त्यसबेला अनन्तले पेस्तोलबाट फायर प्रहरीतर्फ फायर गर्दै आफूलाई जंगलमा पुर्याएर जोगाएको पूर्व सभामुख कृष्णबहादुर महराले विभिन्न समयमा सम्झना गरेका छन्।
राजनीति र सैन्य कमान्डर
माओवादी जनयुद्धमा एक साथ राजनीतिक र सैन्य नेतृत्व गर्ने नेतामा पुन पनि पर्छन्। प्रचण्ड अध्यक्ष र जनमुक्ति सेनाका सुप्रिम कमान्डर थिए। प्रचण्डपछि दुवै मोर्चा पार्टीको कमाण्ड इन्चार्ज र डेपुटी कमाण्डर भएर सैन्य इन्चार्ज भएका छन्।
पश्चिममा रहँदा माओवादीको सैन्य संरचना बलियो बनाएका उनलाई २०५९ मा पार्टीले पूर्वी नेपालमा खटायो। काठमाडौंदेखि पूर्वीभागलाई समेटेर बनाइएको पूर्वी कमाण्डको ईन्चार्ज मोहन वैद्य ‘किरण’ थिए। त्यसको सेकेण्डम्यान पुन थिए। त्योबेलाका भोजपुर सदरमुकाम, बन्दीपुरको हाइवे, काठमाडौंको थानकोट, दधीकोटदेखि साँखुसम्मको आक्रमणको योजनाकार उनी नै थिए। त्यसैगरी सिन्धुपाल्चोकको चौतारा, काभ्रेको पनौती लगायतका आक्रमणमा आफू सहभागी रहेको उनी बताउँछन्।
२०६२ को चुनाबाङ बैठकपछि अनन्त जनमुक्ति सेनाको डेपुटी कमाण्डर बने। सँगसँगै काठमाडौं उपत्यका र उपत्यका आसपासका जिल्लालाई समावेश गरेर बनाइएको विशेष कमाण्डको राजनीतिक इन्चार्ज बने।
रोल्पामा जनयुद्धको आधार तयार गर्न नेतृत्वदायी भूमिका खेलेका उनले १० वर्षपछि विशेष कमाण्डको इन्चार्ज बनेर २०६२/६३ को जनआन्दोलनमा उनले नेतृत्वदायी भूमिका खेले सैन्य र राजनीतिक सन्तुलन मिलाउँदै काम गर्ने क्रममा उनले तत्कालीन सात दलका नेतासँग समन्वय गर्दै जनआन्दोलन सफल बनाउन काभ्रेबाट ९१ हजार ६०० जना काठमाडौं पठाएको बताउँछन्।
अफ्ठ्यारोमा सहजकर्ता, निरन्तर सफलता
राजनीतिक जीवनमा पुन सफलमध्ये नै पर्छन्। कम उमेरमा महत्वपूर्ण जिम्मेवारी उनले पाएका छन् र फत्ते गरेर प्रमाणित पनि गरेका छन्। निरन्तर सक्रियता, धैर्यता र सकारात्मक हुने स्वभावका उनीसँग जनयुद्धकालदेखि नै विरोधीसँग पनि संवाद गर्ने क्षमता रहेका उनका सहकर्मीहरु बताउँछन्।
जनयुद्ध मात्र होइन त्यसपद्धिका राजनीतिक घटनाक्रममा प्रचण्डलाई अप्ठ्यारो पर्दा समन्वयकर्ताको भूमिकामा उनी देखिएका छन्।
नेकपा एमाले र माओवादी केन्द्रलाई एक ठाउँ ल्याएर नेकपा बनाउन उनको महत्वपूर्ण भूमिका छ। फेरि टाढिएका ओली र प्रचण्डलाई अहिलेको अवस्थामा पुर्याउन पनि उनले भूमिका खेलेका छन्।
पुन २०५५ मा चौथो विस्तारित बैठकबाट अनन्त माओवादीको केन्द्रीय सदस्य बनेका हुन्। त्यो केन्द्रीय समितिमा उमेरले सबैभन्दा कान्छो उनी नै थिए। त्यो बेला शक्ति बस्नेत, नेत्रविक्रम चन्द, हितमान शाक्य, मणि थापा, चक्रपाणि खनाल त्यही विस्तारित बैठकबाट एकसाथ केन्द्रीय समितिमा बढुवा भएका हुन्।
एक साथ सात जना युवा केन्द्रीय समितिमा पुगे र त्यसले माओवादी आन्दोलनलाई निर्णायक मोड दिएको मानिन्छ। २०५७ मा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट अनन्त वैकल्पिक पोलिट्व्यूरो सदस्यमा निर्वाचित भए। २०५९ मा भारतको गोवामा बसेको बैठकबाट उहाँ पूर्ण पोलिट्व्यूरो सदस्य भए।
२०६२/२०६३ को शान्तिप्रक्रिया लगतै माओवादीमा शक्तिशाली १३ सदस्यीय सचिवालय बन्यो । अनन्त त्यसमा सदस्य बने। त्यसपछि माओवादी पार्टीमा बन्ने सचिवालय, हेड्क्वाटरमा अनन्त निरन्तर सदस्य रहे। एकीकृत नेकपा (माओवादी)को हेटौडा महाधिवेशनपछि विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनपछि उनी सचिवमा निर्वाचित भए। नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनपछि २०७९ भदौमा बसेको केन्द्रीय कमिटी बैठकबाट उनी उपमहासचिव भए। उनी अहिले उपत्यका विशेष प्रदेश कमिटिको इन्चार्ज छन्।
अनन्त २०६४ को संविधानसभा निर्वाचनमा ललितपुर- १ बाट विजयी भएर संसद प्रवेश गरेका हुन्। थियो । २०६७ माघ २३ मा झलनाथ खनाल प्रधानमन्त्री बन्दा उनलाई गृहमन्त्रीको रुपमा प्रस्ताव गरियो तर शान्ति तथा पुनःनिर्माण मन्त्री बनाइयो। गृह प्राप्त नभएपछि दुई महिनापछि उनले शान्ति मन्त्रालय छाडे। २०६८ भदौ ५ गते डा बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारमा अर्थमन्त्री बने।
उनी त्योबेला अर्थमन्त्री बन्नु धेरैका लागि अनपेक्षित थियो। धेरैको प्रश्न, आलोचना र आशंकालाई मत्थर पार्दै १८ महिना सफलतापूर्वक अर्थ मन्त्रालय सम्हाले। त्यही जगमा उनी अहिले अप्ठ्यारोमा पनि उक्त मन्त्रालयका लागि पत्याइएका हुन्।
अनन्त १८ महिना अर्थमन्त्री बने पनि पूर्ण बजेट ल्याउन भने पाएनन्। उक्त संक्रमणकालमा पूर्ण बजेट ल्याउन नपाउँदा पनि काम गरेर देखाउन सक्छ भन्ने उदाहरण भने पेश गरे। सरकारी ढिलासुस्तीलाई छिटो छरितो बनाउने, वैदेशिक लगानीलाई एकद्वार प्रणालीबाट ल्याउने कोसिस गरे। नेपालले वैदेशिक ऋण विश्व बैंक र एसि याली विकास बैंकबाटमात्रै लिइरहेकोमा चीन, युरोपियन युनियन, जापान, कुबेती फण्ड, साउदी फण्ड लगायतका नयाँ माध्याम, ठाउँबाट पनि ल्याउन सकिने व्यवस्था गरे।
उनले २१ वटा परियोजनाहरुलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिभाषित गरेर जनशक्तिको व्यवस्थापनदेखि बजेट व्यवस्था गरे। काठमाडौंको सडक विस्तारका लागि बजेट व्यवस्थापन गरे। बजेट ल्याउन नपाउँदा पनि २२ प्रतिशतभन्दा बढी राजस्व वृद्धि भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।