विराटनगर– मोरङको धनपालथान गाउँपालिकामा रहेको उमा गौरी कृषि सहकारी संस्थाका अध्यक्ष पुर्पक्षका लागि जेल चलान भएका छन्। सहकारी ठगी मुद्दामा सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार पुर्पक्षको लागि कारागार चलान भएका हुन्।
मोरङ जिल्ला अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले आइतबार रौनियारलाई पुर्पक्षको लागि कारागार चलान गर्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।
सहकारी ठगी मुद्दामा रौनियार मुख्य अभियुक्त रहेका थिए। उमा गौरी कृषि सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना गरेको उजुरी परेपछि उनी प्रहरीमा हाजिर भएका थिए। उनी विरुद्ध असोज २ गते अदालतले पक्राउ अनुमति दिएको थियो।
सहकारीका अध्यक्ष रौनियार सहित २६ जनालाई प्रतिवादी बनाएर मङ्सिर २७ गते अदालतमा मुद्दा दायर भएको थियो। उनीहरूसँग २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो माग दाबी गरिएको थियो।
सहकारीको पूर्व सञ्चालक समिति सदस्य रहकी प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोख्रेलकी श्रीमती अन्जला कोइराला भने धरौटीमा रिहा भएकी छन्। कोइरालासँग १० लाख रुपैयाँ धरौटी माग गरिएको थियो।
यस्तै सहकारी ठगीमा मुछिएका रङ्गेली नगरपालिका–२ का वडाध्यक्ष सन्तलाल खवास, धनपालथान गाउँपालिका–४ का पूर्व वडाध्यक्ष रोशन चौधरी पनि धरौटीमा थुनामुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।