काठमाडौं - काठमाडौँमा जारी त्रिकोणात्मक महिला टी-२० सिरिज क्रिकेट शृंखलाको आफ्नो तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १४१ रनको उच्च लक्ष्य पछ्याउने क्रममा निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १२५ रन बनाउन सक्यो ।
यसअघि नेपालले शृंखलाको सुरुवाती दुवै खेल गुमाएको थियो । बिहीबार नेदरल्यान्ड्स सँगको पहिलो खेल गुमाएको नेपाल शनिबार थाइल्यान्डसँग पराजित भएको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले ३०, सम्झना खड्काले २३, पूजा महतोले १८, कविता जोशीले १४ तथा सीता राना मगरले अविजित १० रन जोडिन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेदरल्याण्ड्सका लागि आइरिस ज्विलिङ, क्यारोलिन डे ल्याङ्गे र हेदर सिजर्सले सर्वाधिक दुई/दुई विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनायो । उसका लागि कप्तान बाबेट डे लिडेले ३८ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ४१ रन बनाइन् । यस्तै, हेदर सिजर्सले २६, रोबिन रिज्के र फेबे मोल्केनबोअरले २१र२१ रन जोडे । नेपालका लागि बलिङमा अलराउन्डर सीता राना मगरले तीन ओभरमा १२ रन दिएर सर्वाधिक ५ विकेट लिइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।