काठमाडौं – नेपालमा सबै भन्दा बढि यात्रुको चाप रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शनिबार देखि बिहान ७ बजे खुलेर राति ११ बजेसम्म सञ्चालन हुने बताएको छ ।
गत कार्तिक २३ गतेदेखि विमानस्थलको स्तरोन्नतिका लागि दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम सुरु गरिएको थियो । स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका सबै उडान कटौती भएको थियो ।
प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गरिएको आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठ जानकारी दिएका छन् ।
धावनमार्गबाट ७५ मिटरभित्र पर्ने संरचनाको काम भने आगामी १८ चैतभित्र सक्ने लक्ष्य राखिएको छ । हालसम्म करिब ४० प्रतिशत काम सकिएको प्राधिकरणले जनाएको छ ।
विमानस्थलको पूर्वतर्फ सेना, वायुसेवा निगम, यती एयरलाइन्स, सौर्य एयरलाइन्सलगायतका लागि ह्यांगर निर्माण भइरहेको छ । पहिलो चरणको काम सकिएपछि वार्षिक एक करोड यात्रुलाई सेवा दिने पूर्वाधार तयार हुने विमानस्थलमा क्षमता अभिवृद्धि परियोजनाले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।