मोरङ- मोरङको उर्लाबारी- ३ स्थित धिमाल जातीय विकास केन्द्र केन्द्रीय कार्यालय परियोजनास्थलमा धिमाल समुदायको परम्परागत पुर्ख्यौली जन्मदेखि मृत्युसम्म गरिने सांस्कृतिक कार्यक्रम भएको छ। कार्यक्रम नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र उर्नि तुन्जाई सांस्कृतिक मञ्च, केन्द्रीय कार्यसमितिको सह–आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा धिमाल समुदायको संस्कार र संस्कृतिबारे उजागर तथा संरक्षण सम्बर्द्धनमा उल्लेखनीय योगदान गरेका तथा गर्दैआएका संस्कृतिविद् र कलाकारहरुलाई सम्मान गरिएको थियो। जसमा अग्रज तथा संस्कृतविद्हरु कविन्द्र धिमाल, चन्द्रकान्त धिमाल, हरि धिमाल, अम्बर धिमाल, गोलान्धर धिमाल, धनबहादुर धिमाल र टेकबहादुर धिमाल सम्मानित भएका छन्।
कार्यक्रममा माइपारिका अग्रज संस्कृतिविद् चन्द्रकान्त धिमालले धिमाल भाषा र कला–संस्कारमा केही मात्रामा भिन्नता रहेकोले सम्बन्धित निकायले यसको लेखाजोखा राख्नुपर्ने बताए।
उनले भने, ‘निकै अघि हाम्रो पालामा जन्म, विवाह र मृत्यु आफ्नै जातीय परम्परा र विधि अनुसार हुने गर्दथ्यो। हालको समयसम्म आइपुग्दा हराउँदै गएको अवस्था छ,’ उनले भने, ‘हामीले यस्ता कुरामा ध्यान नपुर्याउने हो भने जातीय अस्तित्व नै हराएर जान्छ।’
उर्लाबारी नगरपालिकाकी उप–प्रमुख मिना खतिवडाले हरेक जातिले आफ्नो कला, संस्कार, संस्कृति र जातित्व जोगाउन आफैं जागरुक हुन आवश्यक रहेको बताइन्। उनले धिमाल जाति नगरको पहिलो जाति भएकोले आफूले सक्ने साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।