धनगढी- कैलालीको चुरे गाउँपालिका-३ भासुभिर नजिक भीमदत्त राजमार्गमा अचानक विष्फोट हुँदा चार जना घाइते भएका छन्। बुधबार साँझ ग्राबेल गर्नका लागि जेसीबीले खन्ने क्रममा अचानक विष्फोट भएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा एस्काभेटर चालक डडेलधुरा आलिताल गाउँपालिकाका २४ वर्षीय विकास थापा, कैलालीको चुरे गाउँपालिकाका ४५ वर्षीय वसन्त खड्का, सुर्खेत घर भई कञ्चनपुर बस्दै आएका रोलर अपरेटर २२ वर्षीय हीरा थापा र विराटनगर घर भई कञ्चनपुर बस्दै आएका ३५ वर्षीय नवीन देव छन्।
एक्स्काभेटरबाट सडक फराकिलो बनाउने र ग्राबेल गर्ने काम भइरहँदा अचानक विस्फोट भएको हो। घटना लगत्तै फलटुँडेबाट प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो।
चारै जनाको अनुहार र आँखामा चोट लागेको छ। उनीहरु बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।