काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामा विरुद्ध व्यवसायीलाई अपहरण गरेको उजुरी परेको छ। ई-कमर्स वेबसाइट ग्यापु डटकमका सञ्चालक ज्ञानेन्द्र खड्काले आफू कांग्रेस नेता लामाबाट अपहरणमा परेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्।
खड्काले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा लामा विरूद्ध जाहेरी दिएका हुन्। आफूलाई लामा र सहदेव कक्षपति लगायतले ललितपुरको ढोलाहिटीस्थित आदर्श टोलबाट अपहरण गरी सानेपास्थित एक होटलमा लगेर ८ घण्टाभन्दा बढी बन्धक बनाएको उनले आरोप लगाएका छन्।
खड्काले एक विज्ञप्ति सार्वजनिक गर्दै उनीहरूले बन्धक बनाएर फिरौती समेत माग गरेको जनाएका छन्।
उनले विज्ञप्तिमा लेखेका छन्, ‘केही समय अगाडि २०८० साल पुस २३ गते (जनावरी ८ तारिखको) दिन, कुख्यात आपराधिक समूह गणेश लामा र सहदेव कक्षपति लगायतद्वारा ललितपुर धोलाहिटी आदर्श टोलबाट मेरो अपहरण गरी सानेपास्थित लन्डन हाउस होटलमा लगेर ८ घन्टाभन्दा बढी कोठामा थुनेर बन्धक बनाई धम्की र त्रासबीच करकापमा फिरौती स्वरूप करोडौंको लेनदेनको कागज गरेको थियो।’
बाटोमा गाडी छेकेर मास्क र टोपी लगाएर लामा र कक्षपतिले दिउँसो १ बजेतिर खड्काले अपहरण गरी लगेको बताएका छन्।
यसरी बन्धक बनाएर आफूबाट २५ लाख रुपैयाँ लिएको पनि उनले उल्लेख गरेका छन्। अपहरणमा परेको भन्दै उनले माघ २८ गते जाहेरी दिएका थिए।
जाहेरी दिएको थुप्रै दिन हुँदा पनि मान्छे पक्राउ नपरेको हुँदा मुद्दा कमजोर बनाउने पो हो कि भन्ने डरले आफूले घटना सार्वजनिक गरेको खड्काले बताएका छन्।
आफूसँग क्रिप्टो करेन्सी बिटक्वाइन हुनसक्ने आशंका गरेर लिन खोजेको पनि खड्काले बताएका छन्। मोबाइल, ल्यापटप हेरेर केही फेला नपरेपछि जबरजस्ती २० करोडको कागज समेत गराइएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।