काठमाडौं- नेपाली कांग्रेसको सोमबारदेखि सुरु हुने महासमिति बैठकमा प्रस्तुत हुने भनिएको महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावका कतिपय विषयलाई सभापति शेरबहादुर देउवाको असन्तुष्टि कायमै छ। दुई नेताबीच सोमबार बिहान देउवा निवास बुढानीलकण्ठमा भएको छलफलमा दुवै नेताले आ-आफ्नो अडान कायमै राख्दा निष्कर्षविहीन भएको नेताहरूले बताएका छन्।
थापाको प्रतिवेदनमा रहेको कांग्रेसले भविष्यमा चुनावी गठबन्धन नगर्ने विषयलाई सभापति देउवाले रुचाएका छैनन्। उनले सो लगायत अन्य केही विषयलाई हटाएर प्रतिवेदनलाई अन्तिम रुप दिन थापालाई आग्रह गरिरहेका छन्। त्यसका लागि उनले आइतबार पनि थापासँग छलफल गरेका थिए। तर थापा सहमत भएका छैनन्।
'आज (सोमबार) बिहानको छलफल पनि निष्कर्षमा पुग्न सकेन,’ थापा निकट एक नेताले भने, 'अब महासमिति बैठकको उद्घाटनका लागि उहाँहरू कार्यक्रमस्थल (ललितपुरको गोदावरी) तिर लागिसक्नुभयो। अब महासमिति उद्घाटनपछि पुनः छलफल होला।'
देउवा र थापाबीचको असन्तुष्टिकै कारण थापाको प्रतिवेदन छापिन पाएको छैन।
थापा पक्षले कांग्रेसप्रति आस्थावान मतदातालाई रुखमै भोट हाल्न पाउने अवस्था सिर्जना गर्ने प्रस्तावको रुपमा गठबन्धनको विषयलाई व्याख्या गरेको छ। संस्थापन पक्षले भने अहिले गठबन्धनका दलहरूबीच रहेको विश्वासको वातावरण बिगार्ने प्रस्तावको रुपमा अर्थ्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।