आइसिसी विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपमा नेपालले पाँच चरणमा दस खेल खेलिसकेको छ। १० मध्ये नेपालले ४ खेलमा जित हात पारेको छ भने ६ खेलमा पराजित भएको छ।
८ अंक जोडेर अंक तालिकाको छैटौं स्थानमा रहेको नेपालले शुक्रबार र आइतबार हङकङसँग प्रतिस्पर्धा गर्दै छ । अघिल्ला पाँच चरणमा जस्तै छैटौं चरणमा पनि नेपालको ओपनिङ जोडी परिवर्तन हुँदै छ।
लगातार ओपनिङमा चुक्दै आएपछि नेपालले छैटौं ओपनिङ जोडीको रुपमा ज्ञानेन्द्र मल्ल र सागर पुनलाई हङकङ विरुद्ध खेलाउँदै छ । सागर तीन वर्षपछि ओपनिङमा फर्कन लागेका हुन् । टी–२० विश्वकपमा सुवास खकुरेलका ओपनिङ पार्टनर सागरले तीन वर्ष मध्यक्रमको ब्याटिङ सम्हाले । पछिल्लो पटक केन्या विरुद्ध सागरले तेस्रो नम्बरमा ब्याटिङ गरेका थिए।
ज्ञानेन्द्र भने डेढ वर्षअघि ओपनिङमा आएका थिए । डब्लुसिएल च्याम्पियनसिपमा नामिबियाको खेलमा ज्ञानेन्द्रले नरेश बुढाऐरसँग मिलेर ओपनिङ गरेका थिए।
डब्लुसिएलका पछिल्ला १० खेलमा अहिलेसम्म अर्धसतकीय साझेदारी गर्न सकेको छैन । डब्लुसिएलमा नेपालको सर्वाधिक ठूलो साझेदारी स्कटल्यान्ड विरुद्ध हो । स्कटल्यान्ड विरुद्ध पहिलो खेलमा महेश क्षेत्री र अनिल मण्डलको जोडीले अहिलेसम्मकै बढी ४४ रनको साझेदारी गरेको थियो।
कुनै समय नेपालको ओपनिङ ब्याट्सम्यानमा नाम कमाएका सुवास अहिले टोलीमा छैनन् । सागर र सुवास चल्न नसकेपछि तेस्रो नम्बरमा ब्याटिङ गर्ने मल्ललाई ओपनिङको जिम्मेवारी दिइएको थियो ।
पछिल्ला ६ खेलको विश्लेषण गर्दा मल्लले आफ्नो जिम्मेवारी निर्वाह गरेका छन् । तर, उनले गतिलो साथ दिने जोडी पाउन सकेका छैनन् । ६ खेलमा उनले तीन ब्याट्सम्यानसँग ओपनिङ ब्याटिङको साझेदारी गरिसकेका छन् ।
हङकङ विरुद्ध सागरसँग ओपनिङ गर्न लागेको ज्ञानेन्द्रको यो डेढ वर्षमा चौथो ओपनिङ जोडी हो । यसअघि ज्ञानेन्द्रले केन्या विरुद्ध सुनील धमला, नेदरल्यान्ड्सविरुद्ध अनिल मण्डल तथा नामिबिया विरुद्ध नरेश बुढाऐरसँग मिलेर ओपनिङ गरेका थिए । तर, तीन चरणमै यो जोडीले अर्धशतकीय साझेदारी गर्न सकेको छैन ।
स्कटल्यान्डविरुद्ध पहिलो चरणमा महेश क्षेत्र र अनिल मन्डलले ओपनिङ गरेका थिए । दोस्रो चरणको पपुवा न्यूगिनी विरुद्ध अनिललाई सुवास खकुरेलले साथ दिए।
मौका दिएका ओपरनले राम्रो खेल्न नसकेपछि ओपनिङमा फेरि परिवर्तन गर्न लागिएको नेपालका प्रशिक्षक जगत टमाटा बताउँछन्।
टमाटा भन्छन्, 'हामीले जसले राम्रो प्रदर्शन गर्छ, त्यसलाई मौका दिएका हौं । सुनील धमलाले यू–१९ मा राम्रो प्रदर्शन गरेकाले हामीले अवसर दिएका थियौं । तर, उसले जुन प्रदर्शन गर्नुपर्ने थियो, त्यो गर्न सकेन । हामीले अनुभवी खेलाडीलाई ओपनिङमा ल्याएका हौं । सागरले नेपाली टिमबाट खेलेको लामो समय भयो । पहिला पनि ओपनिङ गरेको छ । उसले आफ्नो भूमिका बुझेर खेल्न सक्छ । त्यसैले हामीले टिमको राम्रोको लागि नै ओपनिङमा परिवर्तन गरेका हौं।'
नेपालको पछिल्ला ओपनिङ जोडीहरु:
केन्या विरुद्ध – ज्ञानेन्द्र मल्ल र सुनील धमला
पहिलो खेल – २१ रनको साझेदारी
दोस्रो खेल – ४ रनको साझेदारी
नेदरल्यान्ड्स विरुद्ध – अनिल मण्डल र ज्ञानेन्द्र मल्ल
पहिलो खेल – २३ रनको साझेदारी
दोस्रो खेल – २२ रनको साझेदारी
नामिबिया विरुद्ध – ज्ञानेन्द्र मल्ल र नरेश बुढाऐर
पहिलो खेल – ४२ रनको साझेदारी
दोस्रो खेल – २४ रनको साझेदारी
पपुवा न्युगिनी विरुद्ध – अनिल मण्डल र सुवास खकुरेल
पहिलो खेल – ० रनको साझेदारी
दोस्रो खेल – ३ रनको साझेदारी
स्कटल्यान्ड विरुद्ध – महेश क्षेत्री र अनिल मण्डल
पहिलो खेल – ४४ रनको साझेदारी
दोस्रो खेल – ८ रनको साझेदारी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।