काठमाडौँ- पश्चिमी वायुको प्रभावले बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार बिहीबारदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ। अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशको आकाश खुलिसकेको उनले जानकारी दिए।
उक्त मौसमी प्रणाली देशको पश्चिम भेगबाट क्रमशः पूर्वी भेगतिर सरिरहेकाले आज रातिसम्म मौसममा सुधार आउने मौसमविद् प्रधानाङ्गले जानकारी दिए।
अहिले काठमाडौँसहित देशका अधिकांश भागमा मौसम बदली रहेको छ। उनका अनुसार मधेस प्रदेशका एक/दुई स्थान तथा काठमाडौँका केही स्थानमा छिटफुट वर्षा भएको छ।
आज रातिको समयमा कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।