विराटनगर- भूमिगत संगठनका नाममा धाकधम्की दिई शैक्षिक संस्थाबाट चन्दा माग गर्ने समूहका २ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
उनीहरुले विगत केही समयदेखि मोरङ तथा अन्य जिल्लाहरुमा रहेका शैक्षिक संस्थाहरुमा भूमिगत संगठनका नाममा महासचिव महावीरको दस्तखत भएको नेपाल कम्युनिष्ट पार्टी(माओवादी) लेखिएको लेटर प्याड प्रयोग गरी चन्दा माग गरिरहेको प्रहरीले जनाएको छ।
चन्दा गर्ने र नदिए ध्वंसात्मक कार्य गर्ने भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले माघ २९ गते उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा माङसेबुङ गाऊपालिका-१ गजुरमुखी ईलामका ३८ वर्षीय प्रवीण मिश्र र याङवरक गाउँपालिका-१ च्याङथापु पाँचथरका ३० वर्षीय विपिन अधिकारी रहेका छन्।
पक्राउ परेका मिश्रको साथबाट विष्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर ७ थान, १८ फिट ३ इन्च लामो डेडकर्ड, सोडा आधा केजी, सहयोग रसिद २ ठेली, आर्थिक सहयोग सम्बन्धी लेखिएको पत्र ५ थान, मुक्तिनाथ प्रकाशनको प्रेस आईडी कार्ड, मोबाइल ३ थान र एनसेलका सिमहरु ५ थान बरामद भएको छ।
यस्तै अधिकारीको साथबाट काटिएको र नकाटिएको सहयोग रसिद १/१ थान, मुक्तिनाथ प्रकाशनको प्रेस आईडी कार्ड, एसबीआई बैंकको चेकबुक, मोबाइल १ थान र डिजिटल स्टाम्प १ थान बरामद भएको प्रहरीले जनाएको छ।
यही समूहले विराटनगर-३ मा रहेको खाली चौरमा प्रेसर कुकर बम जस्तो बनाइराखेको र उक्त वस्तु नेपाली सेनाको सहयोगमा फागुन १ गते डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। घटना सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।