इस्लामावाद- धाँधलीको आरोप लागेको निर्वाचनमा लाखौँ पाकिस्तानीले मतदान गरेपछि बिहीबार मतदान केन्द्रहरू बन्द भएका छन्। पाकिस्तानी अधिकारीहरूले मतदानको पूरै दिन मोबाइल फोन सेवा निलम्बन गरेका थिए र मुलुकका सबैभन्दा लोकप्रिय राजनेतालाई कारागारमा राखेका थिए।
पूर्वप्रधानमन्त्री इमरान खानको कारागार सजाय र उनको पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीलाई सैन्य नेतृत्वमा स्थापना गरिएको प्रतिस्थापनले छायामा पारेको अभियानपछि मतदान सर्वेक्षकहरूले मुलुकका १२ करोड ८० लाख योग्य मतदाताबाट कम मतदान हुने भविष्यवाणी गरेका छन्।
बिहीबार भएको मतदानपछि पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले सबैभन्दा धेरै सिट जित्ने अपेक्षा गरिएको छ। विश्लेषकहरूले उक्त पार्टीका ७४ वर्षीय संस्थापक नवाज शरिफलाई जनरलहरूको आशीर्वाद प्राप्त भएको बताएका छन्।
मतदानको अखण्डताका बारेमा चिन्ता व्यक्त गर्दै अधिकारीहरूले बुधबार दुई विस्फोटमा २८ जना मारिएपछि ‘कानुन र व्यवस्था कायम गर्न’ मतदान सुरु हुनुभन्दा ठिकअघि मुलुकभर मोबाइल टेलिफोन सेवाहरू निलम्बन गरेका थिए।
गैर–नाफामूलक डिजिटल राइट्स फाउन्डेसन चलाउने वकिल निघत ड्याडले उक्त बन्दाबन्दी पाकिस्तानीहरूको लोकतान्त्रिक अधिकारहरूमाथि आक्रमण बताए। ‘मोबाइल फोन सेवा बन्द गर्नु राष्ट्रिय सुरक्षा चिन्ताको समाधान होइन, यदि तपाईंले सूचनाको पहुँच बन्द गर्नुभयो भने तपाईंले थप अराजक सिर्जना गर्नुहुन्छ,’ उनले भने।
पाकिस्तानमा मतदाताहरू आफू दर्ता भएको मतदान केन्द्रको पुष्टि गर्नका लागि टेक्स्ट सन्देश सेवामा निर्भर थिए। चालीस वर्षीय अब्दुल जब्बारले इन्टरनेट अवरोधले आफू र आफ्नी श्रीमतीलाई सेवा प्रयोग गर्नबाट रोकेको बताए। ‘अन्ततः पीटीआईका अन्य समर्थकहरूले मतदान केन्द्र पत्ता लगाउन सहयोग गरे,’ उनले भने।
- एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।