काठमाडौं– बासबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहितका व्यक्तिलाई थप ३ दिन हिरासतमा राख्न अनुमति मिलेको छ। व्यवसायी चौधरीसहित ३ जनामाथि जारी अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
जिल्ला अदालतले सोमबार थप ३ दिनका लागि हिरासतमा राख्न अनुमति दिएको हो।
सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले व्यवसायी चौधरीसहित, तत्कालीन बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र चौधरी ग्रुप चाँदबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो।
सीआईबीले उनीहरुलाई गत शुक्रबार पहिलोपटक अदालतमा उपस्थित गराएको थियो। अदालतले उनीहरुमाथि छानबिनका लागि पहिलोपटक ४ दिनको म्याद दिएको थियो। सीआईबीले चौधरीमाथि सरकारी लिखत किर्ते र ठगीमा अनुसन्धान गरिरहेको छ। उनीहरुको बयान लिने क्रम चलिरहेको भन्दै सरकारी पक्षले ७ दिनको समय माग गरेका थिए। तर अदालतले ३ दिन मात्र दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।