गाजा- अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन इजरायल-हमासबीच नयाँ युद्धविराम सुनिश्चित गर्नका लागि सोमबार मध्यपूर्व प्रस्थान गरेका छन्। अक्टोबर ७ मा हमासको आक्रमणपछि पाँचौँ पटक यस क्षेत्रको भ्रमण गरेका ब्लिन्केनले साउदी अरब, इजरायल, इजिप्ट र कतारको भ्रमण गर्ने अपेक्षा गरिएको छ।
करिब पाँच महिनादेखि जारी युद्धको घेराबन्दीमा परेको क्षेत्रमा विनाशकारी असर परेको भन्दै सहायता समूहहरूले बारम्बार चेतावनी दिएपछि उनले गाजामा मानवीय आवश्यकतालाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।
‘अवस्था अवर्णनीय छ,’ गाजा पट्टीमा रहेको आफ्नो घरबाट भागेर इजिप्टको सिमानामा रहेको दक्षिणी शहर राफामा पुगेका प्यालेस्टाइनी नागरिक हमौदाले भने।
संयुक्त राष्ट्रसङ्घले ‘निराशाको चरम अवस्था’ को संज्ञा दिएको राफाले अहिले इजरायलको आक्रमणका कारण विस्थापित बनेका गाजाका २४ लाख जनसङ्ख्यामध्ये आधाभन्दा बढीलाई आश्रय दिएको छ।
ब्लिन्केन यस क्षेत्रमा आइपुगेसँगै उनले जनवरीमा पेरिसमा भएको अमेरिका, इजरायल, इजिप्ट र कतारी उच्च अधिकारीहरूको बैठकमा प्रस्तावित युद्धविरामबारे छलफल गर्ने अपेक्षा गरिएको छ।
हमासप्रति ऐक्यवद्धता जनाउन इरान समर्थित समूहहरूले आक्रमण गर्ने क्रम बढेपछि संयुक्त राज्य अमेरिकाले जवाफी हमला गरिरहेको अवस्थामा कूटनीतिक दबाब थप अत्यावश्यक भएको छ।
-एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।