भरतपुर- चितवनको इच्छाकामना गाउँपालिका–२ को वर्ल्याङस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अधिकांश चेपाङ बालबालिका अध्ययन गर्छन्। यस विद्यालयमा अध्ययनरत ९० विद्यार्थीमध्ये २३ बालबालिका चेपाङ समुदायको अग्रसरतामा सञ्चालनमा ल्याइएको छात्राबासमा बस्छन्। गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको यस छात्राबासका कारण चेपाङ बालबालिकाको पढाइमा सुधार भएको छ।
शतप्रतिशत चेपाङ बालबालिकाले आवासीय सुविधा लिइरहेको यो छात्राबासमा कक्षा ७ सम्म अध्ययन गर्ने २३ बालबालिका छन्। छात्राबास सञ्चालनपछि बालबालिका विद्यालयमा नियमित भएको र पढाइमा पनि सुधार आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर प्रजाले बताए।
‘बाबु आमा नभएका टुहुरा र विपन्न बालबालिकालाई छात्राबासमा राखेर अध्ययन गराइरहेका छौँ,’ उनले भने, ‘नजिकै रहेको विद्यालयमा उनीहरुले राम्रोसँग पढ्न पाएका छन्।’ हाल अध्ययन गरिरहेको विद्यालयबाट आधारभूत तह पार गरिसकेपछि माध्यमिक तहमा पढ्न कहाँ जाने भन्ने अन्योल रहेको उनले बताए।
राष्ट्रिय आधारभूत विद्यालय वर्ल्याङले आगामी शैक्षिक सत्रमा कक्षा ८ खुलाउने तयारी गरिरहेको छ। ‘अहिलेसम्म गाउँपालिकाले संरक्षण गरिरहेको छ, व्यवस्थापनको पाटो हामीले नै हेरिरहेका छौँ,’ प्रजाले भने, ‘यी नानीबाबुलाई अबको एक वर्ष चिन्ता भएन, त्यसपछि कहाँ लैजाने भन्नेमा अन्योल छ।’
विद्यालयका प्राचार्य कमला भण्डारीले छात्राबासमा बसेर अध्ययन गरिरहेका विद्यार्थी पढाइमा पनि अब्बल बन्दै गइरहेका बताए। उनले यहाँ बसेका बालबालिकाले अनुशासित र सरसफाइमा समेत ध्यान दिने गरेको बताए। छात्राबासमा बसेर अध्ययन गरिरहेका बालबालिका पनि आवासीय सुविधासहित अध्ययन गर्न पाउँदा खुसी छन्।
कक्षा ६ मा अध्ययनरत गीता चेपाङ छात्राबासमा बस्ने मौका पाएकै कारण आफूले पढ्न पाएको बताउँछिन्। ‘बाबा बित्नुभयो, आमाले दोस्रो विवाह गर्नुभयो, ठूलोबा, आमासँग बसिरहेको थिएँ, मलाई पढाउन सक्ने सम्भावना थिएन,’ उनले भनिन्, ‘कक्षा ८ सम्म यहीँ पढ्ने हो, त्यसपछि सर म्याडमले जहाँ पठाउनुहुन्छ त्यहीँ गएर पढ्ने हो।’
आमा र बुबा दुवैले दोस्रो विवाह गरेपछि अभिभावकविहीन जस्तै बनेकी सुनिता चेपाङ पनि मामाघरमा थिइन्। कक्षा ६ मा पढ्ने उनका भाइहरु पनि यही छात्राबासमा बसेर पढिरहेका छन्। जन्म दिने बाआमाबाट टाढा रहनु परे पनि उनले आधारभूत शिक्षाका लागि अभिभावक पाएकी छिन्। छात्राबासमै घरपरिवार जस्तो वातावरण भएको भन्दै उनले ढुक्क भएर पढ्न पाएको बताइन्।
इच्छाकामना गाउँपालिकाले भौगोलिक विकटतालाई हेरेर विगत चार वर्षदेखि यो छात्राबास सञ्चालनमा ल्याएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रजाका अनुसार सुरूको वर्ष गाउँलेबाटै नुन, तेल, चामल र तरकारी सङ्कलन गरेर छात्रावासको सुरुवात गरिएको हो। अहिले गाउँपालिकाले वार्षिक रु पाँच लाख बजेट छुट्याइदिएको छ।
‘गाउँपालिकाले दिएको बजेटबाट खाना बनाउने आमालाई मासिक तलब र छात्रावासको भाडा तिर्ने काममा खर्च गर्न पाएको छ,’ उनले भने, ‘बाँकी खानपान र लत्ताकपडाका लागि दाताकै भर पर्नुपरेको छ।’ माध्यमिक तहको अध्ययन गराउनका लागि समस्या रहेको उनी बताउँछन्।
‘कक्षा ८ पढिसकेपछि कहाँ लगेर पढाउने भन्ने चिन्ता छ,’ उनी भन्छन्, ‘विद्यालयमा अध्ययनरत अन्य बालबालिका जाने काउले हो, तर छात्राबासका बालबालिकालाई कसरी पढाउने भन्ने नै सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ।’ गाउँपालिकासँग पनि यस विषयमा छलफल चलाइएको उनले बताए।
वडा नम्बर २ का अध्यक्ष पञ्चबहादुर चेपाङकै प्रयासमा यहाँ छात्राबास सञ्चालनमा आएको हो। कक्षा ८ सम्मका बालबालिकाका लागि गाउँपालिकाले लगानी गरिदिएको उनले बताए। अभिभावक नभएका टुहुरा बालबालिकालाई आवासीय रुपमा अध्ययन गराउने उद्देश्यका साथ छात्राबास सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।
‘यहाँ खाने-बस्ने व्यवस्थासँगै बालबालिकालाई अतिरिक्त कक्षाको पनि व्यवस्था गरेका छौँ,’ उनले भने, ‘सबै विपन्न परिवारका बालबालिकालाई छात्राबासमा राखेर पढाएका छौँ।’ उहाँले सुरुमा जनप्रतिनिधि, शिक्षक र अभिभावकले मुठी दान गरेर छात्रावास सञ्चालन गरेको भन्दै अहिले गाउँपालिकाले वडामार्फत नियमित बजेट विनियोजन गरेर सञ्चालन गरिरहेको बताए।
माध्यमिक तहभन्दामाथि एकै ठाउँमा विद्यालय नहुँदा अर्को विद्यालयमा छात्राबास चलाउन सक्ने सम्भावना पनि छैन,’ उनले भने, ‘त्यस कारण यस विषयमा स्थानीय अभिभावक, विद्यालय परिवार र जनप्रतिनिधि तथा सामाजिक संघसंस्थासँग पनि कुराकानी भइरहेको छ।’
गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले छात्राबास सञ्चालनपछि चेपाङ बालबालिकाको पढाइमा सुधार आएको बताए। उनले गाउँपालिकाले छात्राबास भवन र अन्य भौतिक संरचना निर्माणका लागि सहयोग गर्ने बताए।
–रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।