काठमाडौं- बस र टिपर एकापसमा ठोक्किँदा १७ जना घाइते भएका छन्। बिहीबार राति करिब १० बजे पश्चिम नवलपरासीको सुनवल नगरपालिका-४ गैरेपेट्रोल पम्प नजिकै काठमाडौंबाट बाजुरा जाँदै गरेको सुप्रप ०१-००१ ख ३४८० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु२ख १६९६ नम्बरको टिपर ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
बसमा चालकसहित ३५ जना सवार थिए। दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने १६ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
उनीहरूको रूपन्देहीको देवदह मेडिकल कलेज, चौराह हस्पिटल बुटवल र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले टिपर चालक सुनवल नगरपालिकाका २८ वर्षीय सुनिल दर्जीलाई नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।