काठमाडौं- नेपालमै पहिलो पटक नेपाली चिकित्सकको नेतृत्वमा कलेजो प्रत्यारोपण गरिएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा नेपाली चिकित्सक सहितको टिमले पहिलो पटक कलेजो प्रत्यारोपण गरेका हुन्।
त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीको नेतृत्वमा रहेको टोलीले विदेशी चिकित्सकहरुको सहयोगबिना पहिलो पटक प्रत्यारोपण गरेका हुन्। यसअघिका प्रत्यारोपणमा विदेशबाट आएका चिकित्सकहरुकोले सघाउँदै आइरहेका थिए।
डा भण्डारीका अनुसार नेपाली चिकित्सकहरुको टिमले २७ पुसमा नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरेको थियो। ती पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन्। कलेजो प्रत्यारोपण गरिएका पुरुषको स्वास्थ्य राम्रो रहेको डा भण्डारीले जानकारी दिए। उनका अनुसार ती पुरुषलाई बिहीबार डिस्चार्ज गरिनेछ। कलेजो दान गरेकी मिहलाको भने १० दिन अगाडि नै डिस्चार्ज भइसकेको छ।
प्रत्यारोपणका विषयमा जानकारी दिँदै डा भण्डारीले भने, 'यो हाम्रा लागि ऐतिहासिक क्षण हो। नेपालको कलेजो प्रत्यारोपण क्षेत्रमा यो ठूलो माइलस्टोन हो। यसलाई हामीले कलेजो प्रत्यारोपणमा आत्मनिर्भरतातर्फको पहिलो पाइलका रुपमा लिएका छौं।'
डा भण्डारीले यो उपलब्धिमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीदेखि कर्मचारीहरुको ठूलो साथ र सहयोग रहेको बताए। उनले अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सुरु गर्नका लागि तत्कालिनक स्वास्थ्यमन्त्री गगनकुमार थापाले गरेको सहयोगको पनि खुलेर प्रशंसा गरे।
'त्रिवि शिक्षण अस्पतालका सम्पूर्ण टिमको साथ र सहयोगसँगै तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले गरेको सहयोगका कारण नै आज यो उपलब्धि हासिल भएको हो,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।