धनगढी– नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सभाका सदस्य (सांसद)हरुले प्रदेश संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाउने निर्णय गरेका छन्। बहुमत सदस्यहरुले प्रदेश सभा सदस्य मानबहादुर धामीलाई दलको नेता चयन गर्ने निर्णय गरेका छन्।
माओवादी केन्द्रका बहुमत प्रदेश सदस्यहरुको शुक्रबार धनगढीमा बैठक बसेको थियो। बैठकले दलको नेताबाट भट्टलाई हटाएर धामीलाई चयन गर्ने निर्णय गरेको १ जना प्रदेश सभा सदस्यले जानकारी दिए।
प्रदेश सभा सदस्य लक्ष्मी विकका अनुसार बहुमतबाट यो निर्णय लिइएको हो। नयाँ संसदीय दलका नेता धामी दार्चुलाबाट निर्वाचित भएका हुन्।
धामी सुदूरपश्चिममा वनमन्त्री भइसकेका छन्। सुदूरपश्चिममा माओवादी अहिले २ मन्त्री र १ राज्यमन्त्रीसहित गठबन्धन सरकारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।