काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज (बिहीबार) बिहानसम्म देशको पहाडी भू-भागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहेको छ। मधेस प्रदेशका अधिकांश भु-भागहरुसहित तराईका जिल्लाहरुमा हुस्सु तथा कुहिरो लागेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ।
बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बिहीबार राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।