प्रतिकात्मक तस्बिर
ढोरपाटन– पछिल्लो २ वर्ष ६ महिनाको अवधिमा बागलुङमा सवारी दुर्घटनाबाट २९ जनाले ज्यान गुमाएका छन्। यस समयमा ४८ वटा दुर्घटना भएका छन्। दुर्घटनामा ८१ जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार यहाँ हरेक वर्ष दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढ्दो छ। दुर्घटनाको कारण भने अव्यवस्थित ग्रामीण सडक बनेको छ।
साँघुरा र अप्ठेरा सडकमा दैनिक सयौँ सवारी तथा मालबाहक गाडी गुड्ने गर्छन्। वर्षौं अगाडि ट्रयाक खुलेका सडकको अहिलेसम्म पनि स्तरोन्नति हुन सकेको छैन। जिल्लामा ३ वटा राष्ट्रिय गौरवका आयोजना पर्छन्। त्यसमध्ये मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको करिब ८ किलोमिटरबाहेक अन्य सबै कालोपत्रे भएको छ। कालीगण्डकी कोरिडोर र सालझण्डी–ढोरपाटन भने अहिलेसम्म स्तरोन्नतिसमेत हुन सकेका छैन।
यी सडकमा दैनिक यात्रु जोखिम मोलेरै यात्रा गर्ने हुँदा दुर्घटना हुने गरेको छ। बर्सेनि दर्जन नागरिकले दुर्घटनामा ज्यान गुमाउँदा पनि सरोकारवाला निकायको ध्यान जान सकेको छैन। ट्राफिक प्रहरीले बजार क्षेत्रमा ट्राफिक नियमलाई कडाइका साथ लागु गरे पनि ग्रामीण क्षेत्रमा पुग्न सकेको छैन। गाउँमा ट्राफिक प्रहरी नपुग्दा सवारी चालक अनुमतिपत्र नभएका व्यक्तिले गाडी चलाउँदासमेत दुर्घटना हुने गरेको छ। जिल्ला ट्राफिक कार्यालय बागलुङका ट्राफिक प्रमुख मीनबहादुर खड्का साँघुरा सडक र चालकको लापर्वाहीले दुर्घटना हुने गरेको बताउँछन्। अहिले जिल्लाका केही बजारी क्षेत्रबाहेक धेरै ठाउँमा ट्राफिक प्रहरीको पहुँच नभएको उनको भनाइ छ।
‘दुर्घटना न्यूनीकरण गर्नका लागि हामी हरसम्भव लागि रहेका छौँ, तर सबैभन्दा बढी दुर्घटना गाउँका कच्ची सडकमा हुने गरेका छन्, सबै ठाउँमा ट्राफिक प्रहरी छैन, सीमित जनशक्तिले धेरै गाडीको चाप हुने ठाउँमा हेर्ने गरेका छौँ’, प्रमुख खड्काले भने, ‘कहिलेकाहीँ काँचो चालकले गाडी चलाउँदा पनि दुर्घटना भएको छ, भने कहिले मदिरा सेवन गरी चलाउँदा घटना हुने गरेका छन्, हामीले सचेत गराउने काम गरिरहेका छौँ, यात्रु, चालक र सडक प्रयोगकर्ता सबैलाई समय–समयमा सचेतनामूलक कार्यक्रम गरी दुर्घटना न्यूनीकरणका लागि काम गरेका छौँ।’
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले दुर्घटना हुनबाट जोगाउनका लागि पालिकाले अप्ठेरा र साँघुरा सडकलाई स्तरीकरण गरिरहेको बताए । पछिल्लो सडक सुधार भएपछि तमानखोला क्षेत्रमा दुर्घटनामा कमी आएको उनको भनाइ छ। अहिलेसम्म तमानखोला क्षेत्रमा ट्राफिक प्रहरीको व्यवस्थापन हुन सकेको छैन। बढी गाडीको चाप हुने ठाउँमा सवारी जाँच गर्नुपर्ने उनी बताउँछन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार आव २०७८/०७९ मा २९ वटा सवारी दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका थिए भने २९ जना घाइते भएका थिए। आव २०७९/०८० मा ३२ सवारी दुर्घटनामा १३ जनाको ज्यान गएको थियो भने ३५ जना घाइते भएका थिए। चालु आवको हालसम्म ८ वटा सवारी दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाएका छन्। जसमा १९ जना घाइते भएका छन्।
ट्राफिक प्रहरीले हरेक वर्ष राजस्व पनि बढाउँदै आएको छ। आव २०७८/०७९ मा ६९ लाख ९८ हजार ५००, आव २०७९/०८० मा १ करोड १८ लाख १० हजार सङ्कलन गरेकोमा चालु आवको हालसम्म ६७ लाख ३४ हजार ५०० रुपैयाँ संकलन गरेको प्रहरी प्रमुख मीनबहादुर खड्काले जानकारी दिए। यस वर्ष अघिल्लो वर्षको तुलनामा बढी राजस्व सङ्कलन हुने आकलन गरेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।