काठमाडौं- आइसिसी विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको महत्वपूर्ण खेलमा नेपालले हङकङसँग शुक्रबार र आइतबार प्रतिस्पर्धा गर्दै छ।
एक दिवसीय विश्वकप छनोट खेल्न लिगको शीर्ष चारमा रहनुपर्ने भएकाले दुवै टिमले जितका लागि खेल्नेछन्। दुवै टिममा सबै खेलाडीको भूमिका समान हुने भए पनि केही खेलाडीबाट भने बढी नै आसा गरिएको छ।
पारस खड्का – नेपाल
कप्तान पारस खड्का नेपाली टिमका सबैभन्दा भरपर्दा खेलाडी हुन्। अलराउन्डर पारसले नेपाली टिमको मध्यक्रममा ब्याटिङ गर्छन्। उनले नेपाली टिमलाई चाहिएको अवस्थामा बलिङमा पनि योगदान दिन सक्छन्।
अन्तर्राष्ट्रिय क्रिकेटमा २ शतक प्रहार गरिसकेका उनी डब्लुसिएलमा नेपालका लागि सर्वाधिक रन जोड्ने खेलाडी हुन्। पारसले अहिलेसम्म ८ खेलमा ३ सय ५२ रन जोडिसकेका छन्। उनले गत वर्ष कीर्तिपुरमा नामिबियाविरुद्ध सतक (१०३ रन) प्रहार गरेका थिए। उनले डब्लुसिएलमा तीन अर्धशतक पनि बनाइसकेका छन्।
उनको औसत रन ४४ हो भने स्ट्राइक रेट ९१.६६। डब्लुसिएलमा बढी छक्का प्रहार गर्ने खेलाडीको सूचीमा पारस दोस्रो स्थानमा छन्। उनले अहिलेसम्म ११ छक्का हिर्काएका छन्। यूएईका निजाकत खानले सर्वाधिक १३ छक्का प्रहार गरेका छन्।
पारसले डब्लुसिएलमा ७ विकेट लिइसकेका छन्। उनी केन्याविरुद्ध बिरामी भएका कारण मैदान उत्रन सकेनन्।
पारसबाहेक नेपालका अर्का भरपर्दा खेलाडी स्पिनर बसन्त रेग्मी हुन्। बसन्त डब्लुसिएलमा नेपालका लागि बढी विकेट लिने खेलाडी हुन्।
बसन्तले अहिलेसम्म १० खेलमा १५ विकेट लिइसकेका छन्। डब्लुसिएलमा उनको राम्रो प्रदर्शन ४० रन दिएर ३ विकेट लिनु हो।
अंशुमान राथ – हङकङ
१९ वर्षीय युवा खेलाडी अंशुमान राथ हङकङका अलराउन्डर हुन्। तीन वर्षअघि राष्ट्रिय टिममा डेब्यु गरेका मध्यक्रमका ब्याट्सम्यान अंशुमान अहिले उत्कृष्ट लयमा छन्। किनकि उनी डब्लुसिएलमा सर्वाधिक रन प्रहार गर्ने खेलाडीको पहिलो नम्बरमा छन्।
हङकङले डब्लुसिएलमा खेलेका १० मध्ये ७ खेलमा ब्याटिङ गरेका उनले ४ सय ९८ रन जोडिसकेका छन्। जसमा १ शतक र ४ अर्धशतक समावेश छन्। यसको अर्थ उनले डब्लुसिएलमा खेलका २ खेलमा मात्र अर्धशतक बनाउन सकेका छैनन्। डब्लुसिएलमा उनको औसत रन ७१.१४ छ। स्ट्राइक रेट ८९.०८।
अंशुमान डब्लुसिएलमा बढी चौका प्रहार गर्ने खेलाडीको तेस्रो नम्बरमा छन्। उनले अहिलेसम्म ४४ चौका प्रहार गर्दा ६ छक्का मात्र हिर्काएका छन्।
गत फेब्रुअरीमा अंशुमानले नेदरल्यान्ड्सविरुद्ध शतक प्रहार गरेका दिए। खेलमा उनले पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने क्रममा १ सय ३४ रन बनाए। उनले बाबर हायतसँग मिलेर तेस्रो विकेटका लागि १ सय ९७ रनको साझेदारी गरेका थिए। यो साझेदारी हङकङका लागि मात्र नभएर डब्लुसिएलकै समेत ठूलो साझेदारी हो।
बलिङमा पनि उनको प्रदर्शन राम्रो छ। डब्लुसिएलको ७ खेलमा बलिङ गरेका उनले ७ विकेट लिइसकेका छन्। देब्रे हाते स्पिनर उनको राम्रो प्रदर्शन २२ रन दिएर ३ विकेट लिनु हो।
अंशुमानबाहेक हङकङका लागि स्पिनर नदिम अहमेद महत्वपूर्ण खेलाडी हुन्। अहमेदले डब्लुसिएलमा अहिलेसम्म २० विकेट लिइसकेका छन्। डब्लुसिएलमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा नदिम चौथो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।