काठमाडौं– ललितपुरका विभिन्न ठाउँबाट धनमाल र ग्याससमेत चोरी गर्ने कार्यमा संलग्न दुई जना पूर्पक्षका लागि कारागार चलान भएका छन्। कारागार चलान हुनेमा मकवानपुरका ३७ वर्षीय वीरबहादुर वाइवा, कुलेखानीका ३७ वर्षीय रामकृष्ण लोप्चन रहेका छन्।
उनीहरुले गत असोज ८ गते दिउँसो १ बजेदेखि ३ बजेबीचको समयमा ललितपुर–१५ दीपावली मार्गमा रहेको मदन सिलवालको डेराबाट सुनका गरगहनासहित नगद १७ लाख गरी १५ लाख ९५ हजार बराबरको धनमाल चोरी गरेका थिए।
उक्त घटनामा अनुसन्धान गर्ने क्रममा मंसिर २७ गते दिउँसो ललितपुरको ग्वार्कोस्थित सडक खण्डबाट पक्राउ गरिएको थियो।
वाइवा बालकुमारीमा बस्दै आएका थिए भने लोप्चन ललितपुरको त्यागल बस्दै आएका थिए। चोरी गरेका बेला उनीहरु सीसी क्यामेरामा देखिएकाले पहिचान गरी नियन्त्रणमा लिएर २८ गते चोरी सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भएको थियो।
तर अनुसन्धानका क्रममा उनीहरुले ललितपुर–१५ ताल्छिखेलस्थित सविता रोक्काको डेराबाट सुनका गरगहनासहित नगद चालिस हजार गरी ४ लाख २० हजार बराबरको धनमाल चोरी गरेको खुलेको थियो।
साथै दुवै जनाविरुद्ध ललितपुर–१४ ताल्छिखेलमा सञ्चालित न्यू गोर्खाली खाद्यस्टोरबाट २० थान खाली ग्यास सिलिन्डरसमेत चोरी गरेको बयान दिएका थिए।
बयानमा उनीहरु दुवै जनाले आफूहरुको कुनै बैंक खाता नभएको बताएका थिए। तर बैंकबाट स्टेटमेन्ट मगाउँदा एभरेस्ट बैंक र ग्लोबल आईएमई बैंकमा वीरबहादुरको नाममा खाता रहेको र दुवै बैंकमा गरी ३४ लाख ७७ हजार ६३० रुपैयाँ रहेको पाइएको थियो।
त्यसपछि वीरबहादुरलाई सम्पत्ति शुद्धीकरणबारे अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग पठाइएको थियो। विभागको अनुसन्धानपछि दुवै जनालाई बुधबार जिल्ला अदालत काठमाडौंको आदेशले पूर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।