काठमाडौं– तपस्वी’ राम बहादुर बम्जन (लिटिल बुद्ध) पक्राउ परेका छन्। मंगलबार बेलुका काठमाडौं बुढानिलकण्ठ वडा नं. ७ मा परिवारसँग बसिरहेको अवस्थामा उनी पक्राउ परेका हुन्।
बम्जनका श्रीमती र छोराछोरी बुढानिलकण्ठमा बस्दै आएका थिए। मंगलबार बेलुका काठमाडौंको हात्तिगौंडाबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पक्राउ गरेको हो।
२०७७ असारमै फरार प्रतिवादी बनाइएर मुद्दा दायर गरिएका उनलाई प्रहरीले खोजी गरिरहेको थियो। तर मंगलबार साँझ भने सीआईबीले हात्तिगौंडास्थित उनको घरबाट छापा मारेर पक्राउ गरेको हो।
सीआईबीका अनुसार उनी प्रहरी आएको जानकारी पाएपछि भाग्न खोजेका थिए। उनी दोस्रो तलाबाट हाम फालेर भाग्ने कोसिस गरेका बम्जनमको प्रयास भने सीआईबीले सफल हुन दिएन।
ब्यूरोका डीएसपी धर्मराज भण्डारी नेतृत्वको टिम उनी बस्ने घरमा पुगेको थियो। त्यहाँ उनी परिवारसँग बस्दै आएको पाइएको छ। उनको निगरानीका लागि २५ जना प्रहरी परिचालन गरिएको सीआईबीले जनाएको छ।
उनको घर खानतलासी गरिएको छ। पक्राउ परेका बम्जनलाई भने महाराजगञ्जस्थित ब्यूरोको कार्यालयमा ल्याइएको छ। उनीविरुद्ध सिन्धुपाल्चोक र मकवानपुरमा मान्छे बेपत्ता बनाएको मुद्दा छ भने सर्लाहीमा बाल यौन दुराचारको मुद्दा छ।
आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा प्रहरीले उनलाई खोजिरहेको थियो। यसअघि पनि प्रहरीले उनको खोजीका लागि सिन्धुलीमा सर्च अप्रेशन नै चलाएको थियो। तर पटक–पटक प्रयास गर्दा पनि उनी पक्राउ परेका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।