पोखरा- पोखरा महानगरपालिका-१८ आदर्शबस्तीमा शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।
ललितपुरको चाकुपाटस्थित जिएनपी अस्पताल तथा ग्रिन नेपाल प्रोमोशन प्रा.लि. को प्राविधिक सहयोग र आदर्श बस्ती समाजको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो।
शिविरमा उच्च रक्तचाप, मधुमेह, नशा तथा हाड जोर्नीसहित विभिन्न रोगका करिब १ सय ५० जनाभन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको जिएनपी अस्पतालका मेडिकल डाइरेक्टर डा दिनेश राईले जानकारी दिए।
स्वास्थ्य शिविरका सहभागीलाई डा राई, डा विजय लामिछाने, ग्रिन नेपाल प्रेमोशन प्रालिका अध्यक्ष रामकुमार राई र प्रशासन प्रमुख पुरुषोत्तम कोइरालाले प्राकृतिक उपचार पद्धति, उपचार विधि, शारीरिक व्यायाम, स्वच्छ जीवनशैलीका लागि अपनाउनुपर्ने पूर्व सावधानी र खानपानलगायत विषयमा सचेतनामुलक जानकारी दिएका थिए।
वंशाणुगत र घटना विशेषका कारणबाहेक मानव शरीरमा लाग्ने अधिकांश रोगको स्रोत खानपान र जीवनशैली भएको डा राईले बताए। खानपिनमा अनुशासित हुन सके र नियमित व्यायाम गर्न सकिए धेरै रोगबाट बच्न सकिने डा राईको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।