काठमाडौं– बेरोजगार युवाहरुबाट १० करोड रुपैयाँ ठगी गरेको आरोपमा एक मेनपावर सञ्चालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा महाराजगञ्जको सि स्टार टेलरिङ सेन्टरका सञ्चालक ४७ वर्षीय लालबहादुर लामा छन्। ललितपुरको कोन्जोसोम गाउँपालिका–१ घर भएका लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो।
उनले बेरोजगार युवाहरुलाई वैदेशिक रोजगारीमा लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकमा पठाउने भन्दै १० करोड रुपैयाँभन्दा बढी उठाएर ठगी गरकेो प्रहरीले जनाएको छ। उनले प्रतिव्यक्ति पाँच लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म लिएर ठगी गरेको पाइएको छ।
करोडौ रुपैयाँ लिएर पनि विदेश नपठाएपछि पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनको मेनपावरबाट ९९७ थान राहदानीसमेत बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए। लामालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।