आर्थिक अभावका कारण पढ्न नसकेका समाचारहरु आइरहँदा गुल्मीका एक अति विपन्न दलित परिवारका युवा डाक्टर बनेका छन्।
मुसिकोट नगरपालिका–१ का काशीराम विक लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासबाट एमबिबिएस डाक्टर बनेका हुन्। विकको परिवारसँग दुई महिना खान पुग्ने उब्जाउ जमिन पनि थिएन। उनी जस्ता विपन्न परिवारका सदस्य डाक्टर बन्नु गौरव र प्रेरणाको विषय बनेको स्थानीय शिक्षक प्रेम विक बताउँछन्।
काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा अध्ययन सकेर यसै हप्तादेखि एमबिबिएस डाक्टरको जिम्मेवारी सम्हालेका २६ वर्षीय विकले आफूले एसएलसी पास गर्ने बेलासम्म डाक्टर बन्ने कल्पनासमेत नगरेको बताए। उनी अहिले पाल्पामै इन्टर्नसिप गर्दै छन् ।
२०६५ सालमा सरस्वती माविबाट ७० दशमलब ५ प्रतिशत अंक ल्याई एसएलसी उत्तीर्ण गरेका विक आफ्नो स्कुले जीवन संघर्षपूर्ण रहेको बताउँछन्। आफ्नो पारिवारिक पृष्ठभूमि र आफूले एमबिबिएस पढ्दाको अनुभव काशीरामले यसरी सुनाएः
मेरो बुवा काम गर्न नसक्ने गरी बिरामी हुनुहुन्थ्यो । यस्तो अवस्थामा आमाले मजदुरीबाट गरेको कमाइबाट कष्ट खेप्दै पढेको हुँ । फाटेकै जाँगे लगाएर पढेँ । गरिब परिवारको भए पनि विद्यालयमा विभेद भने सहनु परेन । अरुलाई जस्तै समान व्यवहार पाएँ ।
मैले आज यति सफलता पाउनुमा मेरा गुरु दिनानाथ पौड्यालले गरेको सहयोगको ठूलो भूमिका छ । उहाँकै सहयोगमा मैले गाउँबाट सहर गएर फराकिलो सपना देख्ने अवसर पाएँ । यसका लागि उहाँलाई जति सम्मान गरे पनि कम हुन्छ । दिनानाथ गुरु गुल्मीमा मेरा छिमेकी पनि हुनुहुन्छ ।
एसएलसी पास गरेपछि म गुरुकै सहयोगमा पहिलो पटक काठमाडौं पुगेको थिएँ। काठमाडौं गएर विज्ञान विषय लिएर पढेँ । त्यसपछि घर फर्केर बाग्लुङको एक बोर्डिङ स्कुलमा पढाउन थालेँ। त्यसै क्रममा काठमाडौं बसेका साथीहरुले सुनाए– ‘निःशुल्क डाक्टरी पढ्न पाइन्छ रे ।’ त्यसपछि मैले दलित कोटामा एमबिबिएस पढ्नका लागि फर्म भरेँ। पढाउने काम बीचैमा छाडेर काठमाडौं गएर तीन महिनासम्म परीक्षाको तयारी गरेँ ।
भदौमा भएको एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति परीक्षामा मेरो पनि नाम निस्कियो। ६ वटा दलित कोटा रहेकोमा मेरो नाम ४ नम्बरमा थियो। मलाई लुम्बिनी मेडिकल कलेज पाल्पामा पढ्न सिफारिश गरियो । ४ वर्षसम्म छात्रवृत्तिमा त्यहीँ पढेर एमबिबिएस पूरा गरेँ ।
एसएलसी दिएपछि मैले विज्ञान विषय लिएरै पढ्छु भन्ने सोचेको थिएँ । तर, त्यो कुरा विपन्न परिवारको मेरो लागि त्यति सजिलो थिएन । दिनानाथ गुरुको सहयोग बिना म काठमाडौं ६ महिना पनि बस्न सक्ने अवस्था थिएन । म ६/७ महिना उहाँकै कोठामा बसेर पढेँ। पछि उच्च माध्यमिक शिक्षा परिषद्बाट उहाँकै पहल र मेरो मिहिनेतबाट छात्तवृत्ति पाएँ।
म स्कुल पढ्दा सधैं फस्ट हुन्थेँ । क्याम्पसमा पनि उत्कृष्ट अंक ल्याएँ। अहिले एमबिबिएसमा एक सय जनामा सधैं टप पाँचभित्र पर्न सफल भएँ।
मजदुरी गरेर पेट पाल्ने गरिब परिवारको सदस्य भएर डाक्टर हुन सफल भएकोमा म आफूलाई एकदम भाग्यमानी मान्छु। मैले आफ्नो विगत भुलेको छैन। आफू जस्तै विपन्न वर्गको समस्यासँग परिचित छु। यसैले अब पोस्टिङ भएपछि विकट र विपन्न समुदायको सेवा गर्ने चाहना छ।
मेरो परिवारले विगतमा धेरै आरोह–अवरोह खेपेको छ। कहिले पहिरोले घर पुर्यो, कहिले आगोले घरै खरानी बनायो । तर पनि मैले हरेस खाइनँ। फलस्वरुप एमबिबिएस गरेर डाक्टर हुन सकेँ । मैले जीवनमा जति हण्डर खेपेँ, जति अभावको सामना गरेँ, त्यसैले मलाई दुर्गम क्षेत्रमा गएर स्वास्थ्य सेवा दिने प्रेरणा दिएको हो ।
जीवनमा मैले नसोचेकै सफलता प्राप्त भयो। तर, यो सफलता हेर्न आज बुवा संसारमा हुनुहुन्न । उहाँ गत वर्ष बित्नुभयो । आमा र बहिनी गाउँमै छन्।
गुल्मी जिल्लामा यसअघि हाम्रो समुदायबाट अरु डाक्टर बनेको मैले सुनेको छैन । सम्भवतः म नै पहिलो हुँ कि भन्ने लागेको छ । म डाक्टर बन्न सफल हुनुको श्रेय मलाई सहयोग गर्नेहरुलाई दिन्छु । सहयोगीहरुको होस्टेहैंसे नभएको भए मेरो मिहिनेतले मात्र केही हुने थिएन । अब गाउँमै गएर सेवा गर्ने लक्ष्य छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।