बैतडी– बैतडीमा जारी प्रधानमन्त्रीकप पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा डडेल्धुराले डोटीमाथि शानदार जित निकालेको छ।
प्रतियोगितामा दोस्रो जित दर्ता गर्ने क्रममा डडेल्धुराले डोटीलाई १० विकेटले पराजित गरेको हो। जितका लागि पाएको ७० रनको सामान्य लक्ष्य डडेल्धुराले १२ दशमलव एक ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो।
त्यसमा विशाल ऐर ४७ र निशान्त बुढाऐर १७ रनमा अविजित रहे। यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस जितेर ब्याटिङको निम्ता पाएको डोटी १९ दशमलव चार ओभरमा ६९ रनमा समेटियो।
डोटीका कप्तान भोजराज भट्ट र पारस महतले समान १५/१५ रन बनाए। डडेल्धुराका लागि कप्तान सुरज देउवाले चार र निरज ऐरले तीन विकेट लिए। सुरज खेलका म्यान अफ द म्याच चुनिएका स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिए।
दोस्रो जित निकालेको डडेल्धुराको क्वालिफायर हुने सम्भावना जीवितै रहेको छ। शुक्रबार हुने डोटी र बझाङबीचको खेलले क्वालिफायर हुने टोलीको टुङ्गो लाग्नेछ।
बझाङ विजयी भए सोझै क्वालिफायर हुनेछ भने पराजय भए डोटी, डडेल्धुरा र बझाङको कुल रनरेटका आधारमा क्वालिफायरको टुङ्गो लाग्नेछ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना तथा बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजनामा यही पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो। प्रादेशिक क्रिकेट सङ्घले यसवर्षदेखि दुई चरणमा छनोट गरिरहेको छ।
पहिलो चरणमा बैतडीमा ‘प्लेट च्याम्पियनसिप’ भइरहेको छ। दोस्रो चरणमा कैलालीमा ‘इलिट च्याम्पियनसिप’का खेल हुनेछन्। प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा र डोटी तथा इलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर र अछाम सहभागी छन्।
गतवर्षको प्रदेश छनोटमा सेमिफाइनल पुगेका टोलीले सोझै इलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन्। प्लेट च्याम्पियनसिपको विजेता टोली इलिट च्याम्पियनसिपमा सहभागी हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेश बोहराले बताए।
खेलाडीको क्षमता अभिवृद्धिका लागि प्लेट र इलिट च्याम्पियनसिपको आयोजना गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।