काठमाडौं– नेपाली कांग्रेसको देउवा समूहका नेता एनपी साउदले १५औँ महाधिवेशनमा विधान संशोधनमार्फत केन्द्रीय कार्यसमितिमा नेपाली जनसम्पर्क समितिको प्रतिनिधित्व सुनिश्चित गरिएको बताएका छन् ।
अस्ट्रेलियास्थित नेपाली जनसम्पर्क समितिको अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेता साउदले प्रवासमा रहेका नेपालीहरूको पार्टीप्रतिको योगदान र भूमिकालाई संस्थागत गर्न केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्वको व्यवस्था गरिएको बताएका हुन् ।
उनले पार्टीको आन्तरिक सुदृढीकरणसँगै विदेशमा रहेका नेपालीहरूले भोग्दै आएका समस्या समाधानमा जनसम्पर्क समितिको भूमिका महत्त्वपूर्ण हुने बताए । विशेषगरी कन्सुलर सेवा, नेपाली नागरिकताको निरन्तरता तथा प्रवासी नेपालीका अन्य समस्याहरूको समाधानका लागि पार्टी भित्रैबाट प्रभावकारी पहल गर्न सकिने साउदको थियो ।
नेता साउदले विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाएको उल्लेख गर्दै अब नियमित महाधिवेशनमार्फत कांग्रेसलाई थप एकताबद्ध, सशक्त र व्यवस्थित बनाउने विश्वास व्यक्त गरे ।
अस्ट्रेलियास्थित नेपाली जनसम्पर्क समितिको अधिवेशनमा विगतमा भौतिक रूपमा समेत सहभागी भएको स्मरण गर्दै उनले यस पटक भर्चुअल माध्यमबाट सम्बोधन गर्न पाउँदा खुसी लागेको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।