काठमाडौं– ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भइ फरार रहेका धनुषा औरही गाउँपालिका-५ का ४४ वर्षीय रजिन्द्र पासमान पक्राउ परेका छन्।
एनसिबि दोहा, कतारको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको छ।
पासमान लगायत अन्य व्यक्तिहरूले पीडितको माछापुच्छ्रे बैंकको खातामा रहेको ९ लाख रूपैयाँ अनाधिकृत रूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न बैंकहरूको एटिएम कार्डहरू मार्फत निकालेर प्रयोग गरेको र अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो।
अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ डिसेम्बर ७ मा उनी विरुद्ध रेड नोटिस जारी भएको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।