काठमाडौं– क्रिस्चियन (इसाई) धर्मका संस्थापक येशु ख्रीस्ट जन्मेको दिनको सम्झनामा आज (सोमबार) यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन्। येशु ख्रीस्टको जन्म ६ देखि ४ ईसा पूर्वको बीचमा डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा भएको मानिन्छ।
पवित्र आत्माबाट गर्भवती भइ कुमारी मरियमबाट जन्मिएका येशु ख्रीस्टले तीन मुख्य खुसियाली दिएको इसाई धर्मावलम्बीहरुको विश्वास छ। येशुले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिस्चियन समुदायले आजको दिनलाई तीन वटै दिवसका रूपमा मनाउने गरेका छन्।
मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको छ। विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महोत्सवका रूपमा मनाउन थालिएको छ।
दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो। यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिस्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो। यस वर्ष भने सबैलाई सार्वजनिक बिदा दिइएको छ।
पछिल्लो समय मुख्य शहरका प्रमुख स्थलमा क्रिसमस ट्रि सजाउने गरेको देखिन्छ। विशेषगरी क्रिस्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ। काठकाडौंका पर्यटकीय क्षेत्र ठमेल, बौद्ध तथा काठमाडौं बाहिर पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।