काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले पश्चिम रुकुमका भूकम्प प्रभावितका लागि हालसम्म १६ वटा अस्थायी टहरा निर्माण गरेको छ।
जसअन्तर्गत चौरजहारी नगरपालिकामा ९ र त्रिवेणि गाउँपालिकामा ७ वटा निर्माण गरिएका छन्। विशेष गरी एकल महिला, अपांगता भएका, वृद्धअवस्थाका, बिरामी, विपन्न र सुत्केरीको वर्ग विभाजन गरी उनीहरु लक्षित अस्थायी आवास निर्माण गरिएको हो।
सो अनुसार एकल महिलाको लागि ५, अपांगता भएकाको ४, वृद्धअवस्थाको ३, बिरामीको ३ र विपन्न तथा सुत्केरीको लागि १/१ वटा अस्थायी आवास निर्माण सम्पन्न भएका सशस्त्र प्रहरी बलका सह–प्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
अस्थायी आवास निर्माणका लागि गत मंसिर २८ गते बाट सशस्त्र प्रहरी बलको फौज चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकामा अस्थायी रुपमा बस्ने गरी तैनाथ गरिएको छ। यसका साथै जिल्लाको आठबिसकोट नगरपालिका र सानिभेरी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि छिट्टै फौज परिचालन गरिने छ।
यसैगरी मुसिकोट नगरपालिकामासमेत स्थानीय जनप्रतिनिधि र जिल्ला विपद् व्यवस्थापन समितिसँगको आवश्यक समन्वयमा अस्थायी आवास निर्माणमा सहयोग आवश्यक पर्ने भूकम्प पीडितको पहिचान गरी फौज परिचालन गर्ने योजना रहेको छ।
यता भूकम्प प्रभावित जिल्ला जाजरकोटमा पनि आश्रित गुल्म जाजरकोटले अस्थायी पाल जडान गर्ने, भत्किएका विद्यालय तथा स्थानीयको घरको भग्नावशेष हटाउने तथा चर्किएको घरहरु भत्काउने कार्यलाई तिव्रता दिएकोसमेत सह–प्रवक्ता तथा डिएसपी थापाले बताए।
जसअन्तर्गत डिजास्टर रिलिफ सिस्टम १० सहित ८५ वटा पाल जडान गरिएका छन्। यस्तै भेरी नगरपालिकामा १ सय, नलगाड नगरपालिकामा १ सय १८ र कुशे गाउँपालिकामा २५ स्थानका भग्नावशेष हटाइएका छन्। चर्किएका ८ वटा घरसमेत भत्काइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।