काठमाडौं– प्रहरीले ग्राहकको रोजाइअनुसार बालिका उपलब्ध गराएर यौनजन्य कार्यमा लगाउनेलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंको टोखा नगरपालिका–९ नयाँबसपार्कमा रहेका विभिन्न होटल/गेष्ट हाउसहरुमा नाबालिकाहरुलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय सुमन तामाङ रहेका छन्। उनका साथमा प्रहरीले वेश्याबृत्ति तथा यौनजन्य कार्यमा लगाइएका नावालिकाहरुलाई उद्धारसमेत गरेको छ।
पक्राउ परेका तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा उनले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई फकाएर होटल/गेष्ट हाउसहरुमा वेटर तथा सरसफाइको काममा लगाई दिने भन्दै वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको पाइएको छ।
यस्तै बालिकाहरुलाई वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाएबापत ग्राहकहरुबाट प्रति व्यक्ति नेपाली रुपैयाँ पाँच हजारदेखि ७ हजारसम्म लिने गरेकोसमेत पाइएको छ।
बालिकाहरुलाई एकै लहरमा राखेर ग्राहकलाई रोज्न लगाउने र रेट निर्धारण गरी यौनजन्य क्रियाकलापका लागि पठाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ।
यस्तै होटल/गेष्ट हाउसहरुमा ग्राहकहरु ल्याउनको लागि एजेन्टसमेत नियुक्त गरी नयाँबसपार्क एरियाको (सडक/बाटोमा) परिचालन गरी उनीहरुले ग्राहक ल्याए बापत प्रतिव्यक्ति दुई सयदेखि एक हजारसम्म कमिशनसमेत लिने गरेको अनुसन्धानका क्रममा पाइएको छ।
यस्तै प्रहरीका अनुसार पीडित बालिकाहरुलाई बिगत ५ महिना देखी होटल/गेष्ट हाउसहरुबाट बाहिरसमेत निस्कन नदिई जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको खुलेको छ।
पीडित बालिकाहरुको वास्तविक नाम परिवर्तन गरी नयाँ उपनाम दिई वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाइएको अवस्थामा भेटिएका उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित आवासगृहमा राखिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।