काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतको आदेशले थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ गते सुनुवाइ हुने भएको छ। उच्च अदालत पाटनले तेस्रो न्यायाधीशसमक्ष सुनुवाइका लागि मंसिर २८ गतेको पेसी तोकेको हो।
उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार खाणसँग धरौटी माग गर्ने कि थुनामै पठाउने भन्ने सम्बन्धमा उक्त दिन एक न्यायाधीशको इजलासमा सुनुवाइ हुनेछ।
यसअघि दुई न्यायाधीशको राय बाझिएपछि उनको निवेदन तेस्रो न्यायाधीशको इजलासमा पुगेको थियो।
मंसिर १५ गते शुक्रबार भएको आदेशमा उच्च अदालत पाटनले ९ जना प्रतिवादीको हकमा थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो। त्यसैगरी ६ जना प्रतिवादीको हकमा थुनामै राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरी धरौटी माग गर्ने आदेश दिएको थियो।
खाणको हकमा रायमाझी भएपछि बाँकी नै रहेको थियो। उच्चले अर्का मन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे लगायतलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको थियो। उनीहरुको संलग्नता अस्वीकार गर्न नसकिने दाबी उच्चको थियो। खाणको हकमा पनि एक न्यायाधीशले ३० लाख धरौटी माग सकिने राय दिएका थिए भने अर्का न्यायाधीशले खाणसँग जोडिएका धेरै कुरा देखिएको भन्दै धरौटीमा रिहा गर्न नसकिने भनेको थियो।
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको भनी उच्च तहमा दायर भएको भ्रष्टाचार मुद्दा भएका कारण उच्चले पनि अधिकांश भीभीआईपीहरुलाई थुनामै पठाएको थियो। जिल्ला अदालत काठमाडौंले भने २ जनालाई मात्र धरौटी माग गर्दै अन्य सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।