काठमाडौं- आगामी २७ मंसिरदेखि काठमाडौं महानगरपालिका भित्र सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण रुपमा निषेध गरिने भएको छ। मंगलबार स्वास्थ्य विभागले सार्वजनिक सूचना जारी गर्दै १५ दिनपछि यो व्यवस्था लागू हुने जनाइएको छ।
सूचनामा सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका (चुरोट, विँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने) सूर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने उल्लेख गर्दै कसैले बिक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्ने बताइएको छ।
साथै यस्ता वस्तुको बिक्री वितरण गर्ने व्यवसायीलाई कानुन अनुसार अधिकतम सजाय दिइने पनि महानगरले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
महानगर स्वस्थ्य शहर निर्माणको अभियानमा रहेकोले जनस्वास्थ्य र वातावरणमा हानी पुर्याउने सूर्तीजन्य वस्तुको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।