काठमाडौं– गृह मन्त्रालयले देशभरका कैदी–बन्दीहरुलाई योगाभ्यास र ध्यान (विपश्यना) गराउने भएको छ। त्यसका लागि देशभरकै कारागारहरुमा योग तथा विपश्यना शिविर सञ्चालन गरिनेछ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सञ्चालन गरेको ‘स्वजागरण’ अभियानअन्तर्गत कैदीहरुलाई योगाभ्यास र विपश्यना सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।
योग शिविर सञ्चालनका सन्दर्भमा मंगलबार गृहमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवम् विपश्यना साधक कुबेरसिंह राना सहित सोमबार गृह मन्त्रालयमा छलफल भएको थियो। बैठकले नक्खु कारागारबाट शिविर संचालन गर्ने निर्णय गरेको छ।
१ महिना भित्रै नक्खु कारागारमा हुने १० दिने शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। केन्द्रीय कारागारसहित देशमा ७४ वटा कारागार छन्।
नेपाल विपश्यना केन्द्रका धर्मसेवक सुशील शाहका अनुसार केन्द्रकै व्यवस्थापनमा शिविर संचालन हुनेछ। र, व्यवस्थापन अवस्थाअनुसार एकपटकमा ६०-७० जनाले योग्याभ्यास गर्ने शाहले बताए। पटक–पटक शिविर संचालन गरी सबैलाई विपश्यना ध्यान-योग गराइने छ।
यसअघि नक्खु, भिमफेदी, परासी र बिराटनगर कारागारमा पहिलो चरणको शिविर सम्पन्न भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।